फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूत यु होङद्वारा नेपालका परराष्ट्रमन्त्रीसँग भेट

(GMT+08:00) 2018-06-08 16:31:41
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नजिकिँदै गर्दा नेपालका लागि चिनियाँ राजदूत यु होङले हिजो बिहीबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट्नु भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत युले भ्रमणका विषयमा दुईपक्षीय तयारीबारे छलफल गरेको अधिकारीहरूले बताएका छन्। राजदूत युले पछिल्लो समय विषयगत मन्त्रालयका मन्त्री र अधिकारीहरूसँग समेत भेट गर्नु भएको छ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणकाक्रममा रेल, तेल (भण्डारण), पारवाहन सुविधा, ऊर्जा र सडक सञ्जाल विस्तारमा विशेष चासो राखेपछि सम्बन्धित मन्त्रालयले त्यससम्बन्धी तयारी अघि बढाएको कान्तिपुर अनलाइनले लेखेको छ।

भ्रमण तयारीमा व्यस्त परराष्ट्रमन्त्री ज्ञवाली शनिबार मंगोलिया जाँदै हुनुहुन्छ। मंगोलिया जाने क्रममा ज्ञवालीले बेइजिङमा केही घण्टा बिताउने हुनाले त्यहाँ हुने भेटवार्ताका बारेमा समेत छलफल गर्नुहुनेछ। बेइजिङस्थित अधिकारीहरूका अनुसार उहाँले त्यहाँ चिनियाँ अधिकारीसँग भेट गर्ने र भ्रमणबारे बेइजिङस्थित नेपाली दूतावासको ब्रिफिङ सुन्ने बताइएको छ। उहाँ भूपरिवेष्टित एवं अल्पविकसित मुलुकको थिंक टयांक सम्मेलनमा सहभागी हुन मंगोलिया जान लाग्नु भएको हो। मंगोलियाको उलनबटारमा सोमबार र मंगलबार हुने कार्यक्रममा भूपेरिवेष्टित अल्पविकसित मुलुकले पाउनुपर्ने सुविधा र सहकार्यको विषयमा छलफल हुनेछ। त्यसको आधिकारिक वेबसाइटमा प्रस्तावित कार्यक्रममा भने परराष्ट्रमन्त्री ज्ञवालीको सहभागिताबारे उल्लेख छैन। अन्य मुलुकका विदेशमन्त्री, राजदूत र राष्ट्रसंघीय अधिकारीको सबै तालिका उक्त वेबसाइटमा देखिए पनि नेपालको नाम उल्लेख छैन। परराष्ट्रमन्त्री ज्ञवालीले कार्यक्रममा नेपालका तर्फबाट धारणा राख्ने स्रोतले जनाएको छ।

ज्ञवाली मंगोलिया जाने भए पनि परराष्ट्र मन्त्रालयले ओलीको चीन भ्रमणका एजेन्डा तयारीलाई तीव्रता दिई नै रहनेछ। प्रधानमन्त्री असार पहिलो साता त्यसतर्फ जाने भए पनि परराष्ट्रमन्त्री यही भ्रमणको तयारीमा सक्रिय हुनुहुन्छ। उहाँले दुवैतर्फको तयारीबारे बेइजिङमा आइतबार जानकारी लिनुहुनेछ। परराष्ट्रमन्त्री मंगोलियाबाट फर्केलगत्तै दुवैतर्फबाट भ्रमणको तिथि सार्वजनिक हुनेछ। 'अहिले नै सबै विषय बाहिर ल्याउने अवस्थामा छैन,' मन्त्री ज्ञवालीले भन्नुभयो, 'हामीले धेरै विषयमा दुईपक्षीय छलफल र पुराना विषयमा बढी केन्द्रित भएर काम गरिरहेका छौं। थप प्रगति भएपछि भन्ने छौं।'

प्रधानमन्त्री भ्रमणक्रममा सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउने, रेलमार्ग बनाउने, नेपाललाई उत्तरबाट समुद्रसम्मको पहुँचमा पुर्‍याउने, सांघाई, तियानजेन र गोन्जाओसम्मको पोर्ट सुविधा दिनेलगायत विषयलाई प्राथमिकता दिने अधिकारीहरूले बताएका छन्। नेपालले यस्ता कैयन् विषयको प्रोटोकल र अन्य सबै पक्षसँग छलफल गरेर हस्ताक्षरको अन्तिम चरणमा राखेको छ। चिनियाँ पक्ष सकारात्मक हुनेबित्तिकै हस्ताक्षर हुन सक्ने अधिकारीहरूले बताए। उनीहरूका अनुसार चिनियाँ सहयोगमा केरुङ–काठमाडौं रेलमार्ग निर्माणको विषयमा दुई देशका अधिकारीबीच कूटनीतिक छलफल भइरहेको छ। अध्ययन पनि अघि बढेको छ। सम्भव भएको प्रतिवेदन आइसकेको छ।

नेपालले विभिन्न नाका हुँदैदै उत्तर–दक्षिण जोड्ने रोडको करिडोरबारेमा समेत छलफल गर्नेछ। यसमध्ये केरुङ हुँदै ठोरीसम्मको सडक तथा रेलमार्ग चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत नै रहने गरी अघि बढाउनसमेत नेपालले आग्रह गर्ने बताइएको छ। तातोपानी नाका सुचारु गर्न पुलको निर्माण गर्ने प्रस्ताव राख्ने तयारी पनि नेपालले गरेको छ।

जानकारी तथा लेखहरु