फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रक्सौल–काठमाडौँ रेलमार्ग प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु

(GMT+08:00) 2018-06-09 15:42:28

काठमाडौँलाई भारतको सीमावर्ती सहर रक्सौलसँग जोड्ने गरी प्रस्ताव गरिएको रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु भएको छ। नेपालका रेल विभाग र भारतीय रेल्वेका कन्सलटेन्ट तथा इन्जिनियरहरूले शुक्रबारदेखि प्रस्तावित रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

रेल विभागका प्रवक्ता इन्जिनियर प्रकाशभक्त उपाध्यायले नेपाल र भारतका इन्जिनियरहरूको संयुक्त टोलीले शुक्रबारदेखि रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेको जानकारी दिनुभयो।

उक्त प्रस्तावित रेलमार्गको सम्भाव्यता अध्ययनका लागि भारतीय रेल्वेका इन्जिनियरहरूको सात सदस्यीय टोली नेपाल आएको जानकारी दिंदै उहाँले सम्भाव्यता अध्ययनको समयसीमा नतोकिए पनि अबको छ महिनाभित्र सम्भाव्यता अध्ययन सकिने लक्ष्य लिएको बताउनुभयो।

सम्भाव्यता अध्ययनको यो कार्य प्रारम्भसँगै रेलवे विभागले कम्पनी छनौट कार्य रद्द गरेको छ। यसअघि रेल्वे विभागले सम्भाव्यता अध्ययनका लागि कम्पनी छनौट प्रक्रिया सुरु गरी अन्तिम चरणमा पु¥याएको थियो। भारत सरकारको सम्पूर्ण खर्चमा सम्भाव्यता अध्ययन हुने भनिएको छ।

यस वर्षको चैतमा सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा यो विद्युतीय रेलमार्ग निर्माणका लागि नेपाल र भारतबीच सहमति भएको थियो। प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्ताका क्रममा उक्त सहमति भएको भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको थियो।

"यो रेलमार्ग निर्माणका लागि भारतले आर्थिक सहयोग गर्नेछ, रेलमार्ग निर्माणका लागि दुई देशबीच समझदारी भएको छ। यो रेलमार्गको सर्भे भारत सरकारले नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्रमा पूरा गरिनेछ" जारी प्रेस विज्ञप्तिमा उल्लेख थियो।

सहमति अनुसार, पहिलो चरणमा भारतको आर्थिक सहयोग र नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्र प्रारम्भिक सर्वेक्षण कार्य सम्पन्न गरिने छ भने त्यसपछि आर्थिक 'मोडालिटी' बारे दुई मुलुकबीच समझदारी गरेर रेलमार्गको यो परियोजना सम्पन्न गरिने छ।

प्रधानमन्त्री ओलीले संसद्लाई सम्बोधन गर्नुहुँदै मुलुकको समृद्धि र विकाससँग जोडिएको काठमाडौँ–रक्सौल रेलमार्गको सम्पूर्ण निर्माण कार्य अबको पाँच वर्षभित्र सम्पन्न हुने बताउनुभएको थियो। यो रेलमार्ग निर्माणका लागि नेपाल र भारतको संयुक्त कार्यदलले छिट्टै नै अध्ययनको थालनी गर्ने जानकारी समेत उहाँले गराउनुभएको थियो।

सम्भाव्यता अध्ययनपछि यस रेलमार्ग निर्माणको लागि बृहत् परियोजना प्रतिवेदन डीपीआर) निर्माणको प्रक्रिया अगाडि बढाइने बताउनुहुँदै प्रवक्ता उपाध्यायले अबको दुई वर्षपछि निर्माण कार्य सुरु गरिने लक्ष्य रहेको जानकारी दिनुभयो। सम्भाव्यता अध्ययनपछि यस रेलमार्गको 'फन्डिङ मोडालिटी' तय गरिने जानकारी उहाँले दिनुभयो।

नेपाल–भारत–चीन जोड्ने त्रिदेशीय महत्वको प्रस्तावित यो रेलमार्गको लम्बाई करिब ११३ किलोमिटर हुने अनुमान गरिएको छ। प्रस्तावित केरुङ–काठमाडौं रेलमार्ग र रक्सौल–काठमाडौँ रेलमार्गलाई काठमाडौँमा जोडिने लक्ष्य लिइएको छ। रक्सौलबाट वीरगञ्ज, निजगढ हुँदै वागमती किनारसँगै काठमाडौंसम्म पुग्ने प्रस्तावित यो रेलमार्गमा करिब २० प्रतिशत सुरुङ र पुल मार्ग निर्माण गर्नुपर्ने रेल विभागले जनाएको छ।

भू–बनोटका दृष्टिकोणले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गभन्दा रक्सौल–काठमाडौँ रेलमार्गको निर्माण सहज देखिएको रेल विभागले जनाएको छ।

संयुक्त राष्ट्र«सङ्घको 'युनाइटेड नेसन इकोनोमिक एन्ड सोसल कमिसन फर द एसिया एन्ड द प्यासिफिक' ले सन् २००६ मा कोेरियाको बुसानमा आयोजना गरेको सम्मेलनमा नेपालले ट्रान्स एसियन रेल्वे नेटवर्कको सदस्यता प्राप्त गरेको थियो। त्यसपछि सदस्यता प्राप्त गरेको छ बर्षपछि सन् २०१२ मा व्यवस्थापिका संसद्ले अनुमोदन गरेको थियो।

जानकारी तथा लेखहरु