फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यार्साबाट २० लाख रुपैयाँ राजस्व सङ्कलन

(GMT+08:00) 2018-06-10 15:55:48

बझाङ जिल्लाको दुर्गम साइपाल गाउँपालिकाले यार्चा संकलन क्षेत्रमा प्रवेश गर्नेहरूबाट करिब २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। करिब ४ हजार ५ सय संकलकबाट प्रवेश शुल्कबापत गाउँपालिकाले उक्त रकम उठाएको कान्तिपुर अनलाइनले लेखेको छ।

पाँचवटा वडा रहेको यस गाउँपालिकाले प्रत्येक वडाबाट ५/५ जना स्वयंसेवक परिचालन गरी संकलन क्षेत्रमै गएर रकम संकलन गरेको थियो। गत भदौमा सम्पन्न गाउँसभाले स्थानीय संकलकबाट प्रतिव्यक्ति ३ सय, छिमेकी गाउँपालिकाका व्यक्तिबाट ५ सय, जिल्लाभित्रका संकलकहरूबाट १ हजार र बाहिरी जिल्लाबाट यार्चा टिप्न आउनेहरूलाई प्रतिव्यक्ति २ हजारका दरले प्रवेश शुल्क लगाउने निर्णय गरेको थियो।

यस वर्ष साइपाल गाउँपालिकाको राइढुंगी, चाल्नावन, स्याङवन, माझा, फरालखेत, अमलागाड, साइपाललगायत संकलन क्षेत्रमा ४ हजार ५ सय बढी संकलकहरू गएको र उनीहरू सबैले प्रवेश शुल्क तिरेको प्रवेश शुल्क संकलनमा खटेका एक जना स्वयंसेवक नरेन्द्र धामीले बताउनुभयो।

उहाँले १ हजार ५ सयको हाराहारीमा स्थानीय संकलक, करिब १ हजार जति छिमेकी गाउँपालिकाबाट, १ हजार ५ सय बझाङकै अन्य गाउँपालिकाबाट र ५ सय जति संकलकहरू बाहिरी जिल्लाबाट संकलन क्षेत्रमा प्रवेश गरेको बताउनुभयो।

अघिल्ला वर्षहरूमा गाउँपालिकाले प्रवेश शुल्क उठाउने प्रयास गरे पनि सफल हुन सकेको थिएन। कर्मचारीहरूले यार्सा व्यवस्थित तरिकाले शुल्क उठाउन नसकेका कारण यसै विषयलाई लिएर विवाद हुँदा अघिल्ला वर्षहरूमा पटकपटक झडपसमेत भएको बताउँदै गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले भन्नुभयो, 'शुल्क उठाउने विषयमा विवाद हुदाँ गत वर्ष बन्दुक हानाहान पनि भएको थियो। संकलकहरूसँग छलफल नै नगरी रकम उठाएका कारण त्यो समस्या भएको थियो।'

यस वर्ष स्वयंसेवकहरूलाई तालिम नै दिएर खटाइएको र जनप्रतिनिधिहरू पनि आफैं पुगेर सबै समूहमा छलफल गरी रकम संकलन गरेका कारण कुनै विवाद नआएको उहाँले बताउनुभयो। अघिल्ला वर्षहरूमा उठाएको प्रवेश शुल्कमा पनि हिनामिना हुने गरेका कारण विवाद आउने गरेको बताउँदै उहाँले संकलित प्रवेश शुल्कबाट यार्सा क्षेत्रकै व्यवस्थापन र पूर्वाधार विकासको काम गरिने बताउनुभयो। संकलन क्षेत्रमा आउने विभिन्न खालका विवाद मिलाउन पनि प्रवेश शुल्क संकलनमा खटिएका स्वयंसेवकहरूले काम गरेका कारण यस वर्ष कुनै अप्रिय घटना नभएको अध्यक्ष धामीले बताउनुभयो।

'पहिला दिनदिनै झगडा हुन्थे,' एक जना संकलक कुलभान बोहराले भन्नुभयो, 'यो वर्ष सानातिना विवादहरू आउने बित्तिकै स्वयंसेवकहरूले दुवै पक्षलाई राखेर छलफल गर्ने काम गरे। अहिलेसम्म त्यस्तो कुनै अप्रिय घटना भएको छैन,' अघिल्ला वर्षहरूमा संकलन क्षेत्रमा विभिन्न कारणले विवाद हुँदा भएका झडपमा परी कतिपयले ज्यानसमेत गुमाउने गरेका थिए।

जानकारी तथा लेखहरु