फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्रीको चीन भ्रमणबारे परराष्ट्रमन्त्रीद्वारा पैचिङस्थित दूतवाससँग छलफल

(GMT+08:00) 2018-06-11 16:04:29
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको बारेमा पैचिङस्थित नेपाली दूतावासमा छलफल गर्नुभएको छ। मंगोलिया भ्रमणका क्रममा पैचिङ पुगेका मन्त्री ज्ञवालीले आइतबार दिउँसो चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसँग छलफल गर्नुभएको हो। प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका बारेमा मन्त्री ज्ञवालीले राजदूतबाट जानकारी लिनुका साथै आवश्यक निर्देशन पनि दिनुभएको छ।

मन्त्री ज्ञवालीले आइतबार दिउँसो चीन मैत्री संघका अध्यक्ष चङ चमिनसँग पनि आपसी छलफल गर्नुभयो। चङ चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य पनि हुनुहुन्छ। मन्त्री ज्ञवालीले चङसँग आर्थिक सहयोग तथा सांस्कृतिक सम्बन्धमा छलफल गरेको दूतावासका मिनिष्टर काउन्सिलर हरिश्चन्द्र घिमिरेले बताउनुभयो। छलफलका क्रममा मन्त्री ज्ञवालीले नेपाल चीन सम्बन्धमा पाँच प्राथमिकताका क्षेत्रबारे चिनियाँ नेता चङलाई अवगत गराउनुभयो। मन्त्री ज्ञवालीले बताएका पाँच क्षेत्रमा कनेक्टिभिटी, उर्जा, पर्यटन, कृषि विकास र विज्ञान तथा प्रविधि र सञ्चार रहेका छन्।

नेपालले सधैँ एक चीनको नीतिलाई अवलम्बन गरेको र नेपालको भूमि कहिल्यै पनि चीन विरुद्धमा प्रयोग हुन नदिने प्रतिवद्धता पनि उहाँले बताउनुभयो। ज्ञवाली आइतबार बेलुकै मंगोलिया प्रस्थान गर्दा नेपाली प्रतिनिधिमण्डलमा नेपाली दूतावासका मिनिष्टर सुशील लम्साल पनि मंगोलिया जानुभएको छ।

जानकारी तथा लेखहरु