फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले नेपाल जोड्ने तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुल बनाइदिने

(GMT+08:00) 2018-06-11 16:06:18
चीनले नेपाल जोड्ने दुई प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुल बनाइदिने भएको छ । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेन्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर अनुदानमा बनाइदिने चिनियाँ प्रस्ताव आइतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको हो । प्रधानमन्त्री ओली असार पहिलो साता चीनको औपचारिक भ्रमणमा जाँदै गर्दा यस्तो सहमति भएको कान्तिपुर अनलाइनले जनाएको छ।

तातोपानी र रसुवागढी दुवै स्थानमा पुराना पुल भत्काएर नयाँ निर्माण गरिदिने प्रस्ताव चिनियाँ पक्षले गरेको थियो । नयाँ पुलको लम्बाइ र प्रकारबारे प्राविधिक अध्ययन बाँकी छ । चीनले रसुवागढी–केरुङ नाकामा ठूलो पुल निर्माण गर्न लागेको छ । रेलमार्गलाई समेत ध्यान दिएर त्यहाँ मितेरी पुल निर्माण गरिने अधिकारीहरूले जनाएका छन् ।

२०७२ वैशाखको भूकम्पपछि बन्द तातोपानी नाका पनि पुल निर्माणसँगै खुल्नेछ । 'रसुवागढी–केरुङ जोड्ने स्याफ्रुबेसी–च्याङ्बु र तातोपानी–खासा जोड्ने लिपिङ–खासा मितेरी पुल चीन सरकारको पूर्ण आर्थिक एवं प्राविधिक सहयोगमा पुनर्निर्माण गर्न दिने प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ,' बैठकपछि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भन्नुभयो, 'चीन सरकारले उक्त पुल निर्माण गर्न नेपाल सरकारसमक्ष प्रस्ताव गरेको थियो । यसमा दुईपक्षीय छलफल भएर सहयोग लिने निष्कर्षमा सरकार पुगेको हो ।'

चीनले तातोपानी नाका सञ्चालनमा ल्याउँदैन कि भन्ने आशंका भइरहँदा तीन वर्षपछि बल्ल मितेरी पुल पुनर्निर्माण गरेर उक्त नाका सञ्चालन गर्ने संकेत गरेको हो । उक्त नाका सञ्चालनका लागि तिब्बत सरकारले आफ्नोतर्फको सडक मर्मत गरिरहेको छ । चीनकै सहयोगमा तातोपानीदेखि धुलिखेलसम्म सडक मर्मत कार्य पनि भइरहेको छ ।

मितेरी पुल निर्माणबारे प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सम्झौता हुने जानकारी स्रोतले दियो । भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसूदन अधिकारीले दुवै सीमामा चीनको पूर्ण अनुदानमा पुल बन्ने हुनाले दुवै नाकालाई चीनले महत्त्व दिएको बताए । सबै खर्च चीनले नै व्यहोर्ने यो परियोजनामा नेपालले स्थान र मोडललाई मात्र अन्तिम रूप दिनेछ । सिनियर डिभिजन इन्जिनियर विनोद भट्टराईका अनुसार वैकल्पिक अस्थायी पुल राखेर अहिलेकै स्थानमा नयाँ पुल निर्माण गरिनेछ ।

नयाँ पुलले ओगट्ने स्थान, पुलको लम्बाइबारे अझै टुंगो लागेको छैन । दुवै पक्षले स्थलगत अध्ययन गरेर यस विषयमा निर्णय लिने भट्टराईले बताउनुभयो । हस्ताक्षरको मोडालिटी तयार भइसकेको जनाउँदै उहाँले भन्नुभयो, 'सम्भवत: प्रधानमन्त्रीको चीन भ्रमण वा त्यसअगावै दुईपक्षीय सम्झौता भएर काम अघि बढ्नेछ ।'

पुलको काम अघि बढ्ने भएपछि चीनको हाईवे प्रयोगबारे प्रोटोकल तय गर्न नेपाली टोली सोमबार बेइजिङ जाँदै छ । उक्त टोलीले चीनको भाग भएर नेपालको अर्को स्थानमा सामान लैजान चीनले दिने सुविधाबारे टुंगो लगाउने अधिकारीहरूले बताए । टोलीमा जान लागेका भट्टराईले चीनको हाईवे उपयोगबारे अन्तिम छलफल भएर प्रधानमन्त्रीको भ्रमणमा सम्झौता हुनेछ ।

जानकारी तथा लेखहरु