फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीको चीन भ्रमणमा हवाइ उडान, चिनियाँ पर्यटक

(GMT+08:00) 2018-06-12 16:11:17
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न चीन भ्रमणमा हवाइ उडानको रुटलाई आफ्नो प्रमुख एजेण्डा बनाएको छ।पर्यटन मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई बुझाएको एजेण्डामा चीनको बेइजिङ ग्यान्जावो, संघाइलगायतका स्थानमा नेपाली जहाज उडानको सम्झौता हुनुपर्ने उल्लेख छ।

अन्य स्थानमा समेत उडानको सम्झौताबारे आफैँ विचार गर्न समेत परराष्ट्रलाई पर्यटन मन्त्रालयले भनेको छ। त्यहाँबाट आउने जाने यात्रुको आधारमा हवाइरुट को सम्झौता विषयलाई उठान गर्नुपर्ने मन्त्रालयलको प्रस्तावमा उल्लेख छ।

पर्यटन आगमन बढाउनु पर्ने सरकारको नीतिलाई आधार मानेरै नयाँ हवाइ रुट माग गरेको पर्यटन मन्त्रालका सचिव कृष्णप्रसाद देवकोटाले जानकारी दिनुभएको नेपालखबर अनलाइनले जनाएको छ।

चीनका ५ एयरलाइन्सले चीनका सहरबाट काठमाडौंको उडान गर्दै आएका छन्। चाइना इस्र्टन, एयर चाइना, चाइना साउर्दन एयरलाइन्स, तिब्बत एयरलाइन्सले दैनिक काठमाडौं उडान गर्छन्। नेपाल एयरलाइन्सले भने चीनको हङकङमा मात्र उडान गर्दै आएको छ।

चिनियाँ सहरमा नेपाली एयरलाइन्सले उडान अनुमति नपाउँदा चिनियाँ कम्पनीले मात्र व्यापार गरिरहेका हुन्। नेपाल र चीनबीच व्यापार घाटाको खाडल ठूलो छ। राष्ट्र बैंकका अनुसार चालू आवमा चीनबाट हुने आयत २२.३ प्रतिशतको वृद्धि भएको छ।

प्रधानमन्त्री ओली चीन जाने भएपछि परराष्ट्र मन्त्रालयले विषयगत मन्त्रालयहरुसँग सम्झौताका प्रस्ताव माग गरेर छलफल गरिरहेको छ। मन्त्रालयले पठाएका प्रस्तावमा चिनियाँ पक्ष सहमत भएका विषयमा सम्झौता हुनेछन्।

यसैगरी नेपाल एयरलाइन्ले पनि विमान थप गरिरहेको र चिनियाँ पर्यटकको आगमन पनि बढेकाले पर्यटन मन्त्रालयले हवाई रुटलाई मुख्य एजेन्डा बनाएको हो। मन्त्रालयले चिनियाँ पर्यटक बढाउन दुई देशका सरकार प्रमुख स्तरमै छलफल गर्न प्रस्ताव गरेको छ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका प्रस्तावमा संयोजन गरिरहेका पर्यटन मन्त्रालयबाट सहसचिव बुद्धिसागर लामिछानेका अनुसार चिनियाँ पर्यटक नेपालमा मात्रै नभई अन्य देशमा पनि बढ्दैछन् त्यसमा नेपालले फइदा लिन उच्च स्तरबाटै छलफल हुन आवश्यक छ। प्रधानमन्त्री ओलीले असारको पहिलो साता चीनको भ्रमण गर्ने अपेक्षा गरिएको छ।

नेपालले हाल चिनियाँ पर्यटकलाई १५० दिनका लागि निशुल्क प्रवेशाज्ञा दिइरहेको छ। पर्यटन मन्त्रालयको सिफारिसमा परराष्ट मन्त्रालयले सन् २०१६ जनवरी देखि भिषा शुल्क नलिएको हो। निःशुल्क भिषा दिएसँगै चिनियाँ पर्यटकको आगमन बढेको छ। वर्षिक ८०–९० हजार चिनियाँ नेपाल आइरहेकोमा सन् २०१७ मा एक लाख पर्यटक नाघेका छन्।

जानकारी तथा लेखहरु