फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लामो प्रयासपछि पुन: नेपाल–जापान सीधा हवाई सेवा सञ्चालनको सम्झौता

(GMT+08:00) 2018-06-23 15:52:32

लामो समयको प्रयासपछि पुन: नेपाल–जापान सीधा हवाई सेवा सञ्चालनका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार नेपाल र जापानका सरकारी अधिकारीहरुबीच वार्तापछि सीधा हवाई सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर भएको टोकियोस्थित नेपाली दूतावासले जानकारी दिएको छ। दूतावासका अनुसार हवाई सेवा सम्झौता (एएसए) २५ वर्षपछि पुनरावलोकन भएको हो । यसअघि नेपाल–जापानबीच १९९३ मा सीधा हवाई उडान गर्ने सम्झौता भएको थियो ।

सोमबार टोकियोमा नेपाल सरकारको प्रतिनिधिमण्डलका प्रमुख संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव कृष्ण देवकोटा र जापानका पर्यटन, पूर्वाधार तथा भूमि मन्त्रालयका प्रमुख हिरोसी कुवामोतोबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको दूतावासले जानकारी दिएको छ। पर्यटन सचिव देवकोटाले लामो समयको प्रयासपछि नेपाल–जापानबीच सीधा हवाई सेवा सञ्चालन गर्ने सम्झौता भएको र अन्य प्राविधिक पक्षमा निरन्तर छलफल हुने जानकारी दिनुभयो । सम्झौता अनुसार अब नेपाल-जापानबीच सातामा १४ वटा उडान हुनेछन् ।

सीधा हवाई सेवाले जापानमा ८० हजारको हाराहारीमा रहेका नेपालीहरु र नेपाल घुम्न जाने जापानी पर्यटकहरुले प्रत्यक्ष लाभ लिने सक्ने नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालको भनाइ छ। सन् १९९३ को सम्झौतामा सातामा ७ वटा जति उडान गरिएको थियो।

जानकारी तथा लेखहरु