फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानसेनापति आज चीन आउँदै

(GMT+08:00) 2018-07-03 18:38:11

नेपालका प्रधानसेनापति राजेन्द्र क्षत्री आज मंगलबार चीन भ्रमणका क्रममा काठमाडौँबाट चीन प्रस्थान गर्नु भएको छ। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणमा उहाँ चीन भ्रमण गर्न लाग्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ। प्रधानसेनापति क्षत्री चीन भ्रमण सकेर म्यानमार जानुहुनेछ। उहाँको दुवै देशको भ्रमण ११ दिनको रहनेछ।

चीन तथा म्यानमार भ्रमणका क्रममा उहाँले उच्चस्तरीय राजनीतिक नेतृत्वसँग समेत भेटघाट गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सैनिक प्रवक्ता एवं सहायक रथी गोकुल भण्डारीले यो भ्रमणबाट दुई देशसँग नेपालको सम्बन्धमा थोरै भए पनि योगदान पुग्ने बताउनुभयो। 'यस किसिमको उच्च तहको भ्रमणले नेपाली सेना र मित्रराष्ट्रहरू चीन तथा म्यानमारका सेनाबीच रहँदै आएको आपसी सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाको छ,' उहाँले भन्नुभयो।

भ्रमण अवधिभर बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने बताइएको छ। भदौ २४ मा सेवानिवृत्त हुन लाग्नु भएका प्रधानसेनापति क्षत्रीको भ्रमण कार्यक्रमको स्वीकृति प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणअगावै मन्त्रिपरिषद्ले गरेको हो। प्रधानमन्त्री चीनबाट फर्केको भोलिपल्ट नै क्षत्री त्यसतर्फ लाग्ने तयारीमा थिए। तर म्यानमारका लागि समेत समय मिलाउनुपर्ने भएको र नेपालमा राष्ट्रसंघको उपमहासचिव आउने भएपछि केही ढिला गरी चीन भ्रमण गर्नु भएको हो।

भर्खरै खुला हुँदै गएको म्यानमारसँगको सम्बन्ध र चीनसँग प्रति–आतंकवाद संयुक्त अभ्यास गरेका कारण प्रधानसेनापतिको भ्रमणलाई चासोका साथ हेरिएको छ। गत वर्षको अप्रिलमा नेपाली सेना र चिनियाँ सेनाबीचको संयुक्त तालिमका क्रममा प्रति–आतंकवादसम्बन्धी सीप, विभिन्न सैनिक कारबाहीका अनुभव र ज्ञान आदानप्रदान भएको थियो। त्यसकै निरन्तरतामा चीनमा केही महिनामा संयुक्त अभ्यास हुनेछ।

प्रधानमन्त्री फर्केको केही दिनमा चीन भ्रमण हुनु र सैन्य सहकार्यमा जोड दिनुले नेपाल–चीन सम्बन्धमा सैन्य सहकार्य पनि सँगै अघि बढ्न लागेको देखिन्छ। भारतीय सेनाको समेत मानार्थ सेनापति रहेका प्रधानसेनापतिको चीन भ्रमण भारतीय पक्षको समेत चासोको विषय हुने गर्छ।

प्रधानसेनापतिले एक महिनाअघि भारत भ्रमण गर्नु भएको थियो। भारतीय सेनापतिको निमन्त्रणामा दोस्रो पटक औपचारिक भारत भ्रमण गरेका प्रधानसेनापति क्षत्रीले चीनको पनि दोस्रो पटक औपचारिक भ्रमण सुरु गर्नु भएको हो।

जानकारी तथा लेखहरु