फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

त्रिशूली 'थ्री ए' को ८८ प्रतिशत काम सम्पन्न

(GMT+08:00) 2018-07-04 16:29:23
त्रिशूली थ्री ए जलविद्युत् आयोजना आउने वर्षभित्र विद्युत् उत्पादन हुनेगरी कार्य प्रगति भइरहेको छ। आयोजनाका अनुसार हालसम्म करिब सिभिलतर्फको८८ प्रतिशत काम पूरा भइसकेको छ।

भूकम्पले क्षति पुर्याउँदा र चिनियाँ एक्जिम बैङ्कसँग ऋण सम्झौता हुन नसक्दा लामो समय रोकिएको निर्माण कार्यले विगत केही महिनादेखि गति लिएको हो। गत कात्तिक महिनाको दोस्रो साता आयोजना निर्माणका लागि चिनियाँ एक्जिम बैङ्कसँग ऋण नवीकरण सम्झौता भएपछि आयोजनाको थप काम अगाडि बढेको हो।

ठाउँठाउँमा स्थानीय बासिन्दाले अवरोध गर्दा लामो समयदेखि रोकिएको प्रसारण लाइनको काम पनि सुचारु भएको आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभएको गोरखापत्रअनलाइनले लेखेको छ। १३२ केभीको प्रसारण लाइन निर्माणमा स्थानीय बासिन्दाले बढी मुआब्जालगायतका माग राखेर काममा अवरोध गर्दै आएका थिए। नुवाकोटको सिम्लेदेखि काठमाडौँको मातातीर्थसम्मको ४५ किलोमिटरमा १४० वटा टावर निर्माण गर्नुपर्नेमा ११८ वटा टावरको जग निर्माण भइसकेको छ भने ११० वटा टावर जडान गर्ने कार्य पनि सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो। अब आठवटा टावरको मात्र काम बाँकी रहेको र ती टावरको पनि काम सुरु भइसकेको छ। प्रसारण लाइनमा ४० प्रतिशत प्रगति भइसकेको र बाँकी काममा खासै समय नलाग्ने पनि आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार बाँधस्थल, सुरुङ, विद्युत्गृह सबै स्थानमा कामको गति अघि बढेको छ। करिब चार किलोमिटर सुरुङको काम पनि पूरा हुन थालेको छ। बाँधस्थलमा ढोका जडान गर्ने काम बाहेक अरू सबै कार्य पनि सम्पन्न हुने क्रममा छ। हाइड्रोमेकानिकल कार्यमा ६५ प्रतिशत र इलेक्ट्रोमेकानिकल कार्यमा १६ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ।

जोशीका अनुसार इलेक्ट्रोमेकानिकल कार्यप्रगति कम देखिएको भए पनि आवश्यक मेसिन, उपकरण, टर्वाइन, जेनेरेटर, ट्रान्सफर्मर आउने कार्य जारी छ।

आयोजनाको सिभिल कार्य गर्न चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी) र प्रसारण लाइन निर्माण गर्न चिनियाँ कम्पनी सीडब्लूईले काम गरेको छ। ६० मेगावाट उत्पादन क्षमताको यो जलविद्युत् आयोजनाको निर्माणका लागि ऋणदाताका रूपमा रहेको चिनियाँ एक्जिम बैङ्कसँगको ऋण सम्झौता भएअनुसार हाल सो बैङ्कले ऋण प्रवाह गर्दै आइरहेको छ।

सन् २०१६ को जुन ३० सम्म निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य राखिएको यो आयोजनालाई भूकम्पपछि सन् २०१९ अप्रिल ३० सम्म पूरा गर्ने लक्ष्य राखिएको छ। आयोजना निर्माण गर्न लाग्ने सबै लगानी (७९४ मिलियन चिनियाँ रुपियाँ) नेपाललाई चिनियाँ एक्जिम बैङ्कले दिने सम्झौता छ।

जानकारी तथा लेखहरु