फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालभर २२ प्रतिशत रोपार्इं

(GMT+08:00) 2018-07-04 16:41:45
वर्षात् सुरु भएपछि किसानले धमाधम धान रोपाइँ गरिरहेका छन्। मंगलबारसम्म मुलुकभर २२.०७ प्रतिशत रोपाइँ भएको छ। १५ लाख ५२ हजार चार सय ६९ हेक्टर धान रोपाइँ हुने खेतीयोग्य जमिनमध्ये तीन लाख ४२ हजार ६ सय ३१ हेक्टरमा रोपाइँ भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ।

सबैभन्दा धेरै उच्च पहाडी क्षेत्रमा रोपाइँ भएको छ। उच्च पहाडमा ३८.२१ प्रतिशत, मध्यपहाडमा २९.०९, तराईमा १८.६५ प्रतिशत रोपाइँ भएको छ। पूर्वाञ्चलमा १६ प्रतिशत, मध्यमाञ्चलमा ११, पश्चिमाञ्चलमा २४, मध्यपश्चिमाञ्चलमा २९ र सुदुरपश्चिमाञ्चलमा ५० प्रतिशत रोपाइँ भएको छ। गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँ धेरै भएको कृषि प्रसार निर्देशनालयका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताएको नागरिकदैनिकले लेखेको छ।

मनसुन सुरु हुन केही ढिलो भए पनि असारको दोस्रो साताबाट भारी मनसुन भएकाले किसानले धान रोपिरहेका छन्। यो वर्ष पानी राम्रो परेकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बताए।

मन्त्रालयको आह्वानमा गत शुक्रबार 'धान उत्पादमा वृद्धि, मुलुकको राष्ट्रिय समृद्धि' नाराका राष्ट्रिय धान दिवस मनाइएको थियो। सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसानले मनसुन सुरु भएपछि रोपाइँ सुरु गर्छन्।

चालु आर्थिक वर्ष ०७४/७५ मा ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा आगामी वर्ष उत्पादन बढ्ने मन्त्रालयको अपेक्षा छ। यो वर्ष पोहोर भन्दा ७९ हजार मेट्रिक टन कम धान फलेको थियो। मौसम राम्रो हुँदा गत आव ०७३/७४ मा ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो। मुलुकको अर्थतन्त्रमा कृषिको योगदान २७ प्रतिशत छ। कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ। मनाङ र मुस्ताङबाहेक मुलुकका सबै जिल्लामा धान खेती हुन्छ। ६० मिटरदेखि तीन हजार ५० मिटरको उचाइमा धान खेती गरिन्छ। तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ र उच्च पहाडमा ४.१ प्रतिशत क्षेत्रमा धान खेती गरिने मन्त्रालयले जनाएको छ। कुल खेती हुने क्षेत्रफलमध्ये ५०.२ प्रतिशत जग्गामा धान खेती हुन्छ।

जानकारी तथा लेखहरु