फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वर्षाका कारण सगरमाथा मापनको काम स्थगित

(GMT+08:00) 2018-07-05 15:41:13
सगरमाथाको उचाई मापन गरिरहेको नेपाली प्राविधिक टोलीले 'लेबलिङ'को ६० प्रतिशत काम पूरा गरेको छ। सिराहस्थित नेपाल–भारत सीमा नजिकै मदारबाट सोलुखुम्बुको सिमानासम्म १७० किलोमिटर लेबलिङ सर्भेको काम सम्पन्न गरेको नापी विभागले जनाएको नेपाल खबर अनलाइनले लेखेको छ।

विभाग महानिर्देशक गणेश भट्टले हालसम्म लेबलिङको ६० प्रतिशत काम सम्पन्न भएको जनाउँदै वर्षाका कारण मापन कार्य प्रभावित भएको जानकारी दिनुभयो। समुद्र सतहदेखि उचाई मापन गर्न लेबलिङ सर्भे आवश्यक पर्छ।

वर्षायाम सुरु भएसँगै डाँडाको चुचुरोमा पुग्न गाह्रो हुने भएपछि सगरमाथा मापनको कार्य प्रभावित भएको हो। 'वर्षायाममा डाँडामा पुग्न अप्ठ्यारो हुने र अध्ययनका लागि कठिनाई पर्ने भएकाले सगरमाथाको उचाई मापन कार्य केही समयका लागि स्थगित गरेका छौँ', उहाँले भन्नुभयो, 'वर्षा घटेसँगै फेरि काम थाल्छौं।'

कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको नापी विभागले सगरमाथाको उचाई मापन गरिरहेको हो। 'लेबलिङका लागि सगरमाथाको चुचुरोसम्म पुग्न कठिन हुने हुँदा नजिकको डाँडासम्म पुगेर लेबलिङ गर्ने योजना रहेको छ,' अध्ययनमा खटिएका नापी विभागका अधिकृत विवेक नेपालले भन्नुभयो, 'सगरमाथाको नजिकका चुचेडाँडा, पतालेडाँडा, छुयामुडाँडासम्म पुगेर लेबलिङ सर्भे गर्नेछौं।'

नेपालले आफ्नै प्राविधिक परिचालन गरेर पहिलो पटक सगरमाथाको उचाइ नापिरहेको हो। यसअघि भारतका प्राविधिकले गरेको मापनलाई नेपाल सरकारले आधिकारिकता दिएको थियो। सगरमाथाको उचाई यसअघि भारत, चीन, अमेरिका, इटालीसहितका देशहरुले गरेका थिए।

भारतको सर्भे अफ इन्डियाले ६२ वर्ष पहिले (सन् १९५५) गरेको मापनमा सरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर कायम भएको थियो। नेपालले अहिलेसम्म त्यसैलाई आधिकारिक मान्दै आएको छ।

सर्भे अफ इन्डियाले उचाई मापन गर्न त्यतिबेला प्रयोग गरेका ८ विन्दु बाहेक नेपाली टोलीले थप नयाँ ४ विन्दु थपेर काम गरिरहेको हो। नयाँ विन्दुमा सोलुको टाकसिन्दु, पातलेडाँडा र दोलखाको जिरी एक, जिरी दुई छन्। पुराना र नयाँ गरी सोलुका ८, दोलखाका २, भोजपुर र खोटाङका १–१ गरी १२ बिन्दु तय भएका छन्।

विभागले सोलुखुम्बुको पिके, सोलुङ, पताले र चुलह्याम लगायतका स्थानमा भने अध्ययन गरिसकेको छ। चार स्थानमा अध्ययन गरेकोमा टोलीले पिकेमा मात्र सर्भे अफ इन्डियाले अध्ययन गरेको स्थान भेटेको जनाएको छ।

चुलह्यामुमा जिपिएसले देखाएको ठाउँमा रेडियो, इन्टरनेटको टावर राखिएको र सोलुङमा भने सर्भे अफ इन्डियाले सगरमाथाको उचाई मापन गर्न प्रयोग गरेको स्थान भेट्न नसकिएको विभागले जनाएको छ। सगरमाथा उचाई मापन टोलीमा सगमाथा आरोहण गरिसकेका अनुभवी शेर्पाहरु पनि सहभागी हुने विभागको भनाइ छ।

जानकारी तथा लेखहरु