फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेइजिङमा नेपाली थाङ्का प्रदर्शनी

(GMT+08:00) 2018-07-10 16:36:20

बेइजिङको केन्द्रभाग पर्ने मिनशङ आर्थिक क्षेत्रमा नेपाली थाङ्का प्रदर्शनी गरिएको छ। २६ वटा नेपाली पौवा चित्र (परम्परागत नेवारी चित्र) र ६ वटा थाङ्का चित्रहरु समेटिएको सो प्रदर्शनी जुलाई ७ तारिख शनिबार सुरु भएको हो। प्रदर्शनी यही जुलाई २१ तारिखसम्म हुनेछ।

प्रदर्शनीमा राखिएको चिनियाँ रेशमी पङ्खामा बनाइएको नेपाली पौवा चित्रले सबैको ध्यान तानेको छ। चीनमा रेशमी कपडाबाट बनाइएका पङ्खामा परम्परागत चित्रहरु पेन्टिङ गरिन्छ। यस्ता रेशमी पङ्खामा ड्रागन तथा चिनियाँ सुन्दरी युवतीको चित्र बनाउने प्रचलन निकै पुरानो हो। चीनको राजधानी बेइजिङको केन्द्रमा रहेको प्यालेस म्युजियम अर्थात् फोर्बिडन सिटी दरवारभित्र यस्ता परम्परागत चिनियाँ पङ्खा प्रदर्शनी गरेको देख्न पाइन्छ।

चीनमा निकै महत्व दिइने रेशमी पङ्खामा नेपाली पौवा चित्र बनाएर नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई नयाँ आयामबाट जोड्ने कलाको सिर्जना भएको छ। बेइजिङको विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट भखरै स्नातकोत्तर गर्नु भएका भक्तपुरका क्रान्ति कायस्थले चिनियाँ रेशमी पङ्खा किनेर नेपाल लानु भयो र नेपालका प्रख्यात पौवा चित्रकार उदयचरण श्रेष्ठ र समुन्द्रमान सिंह श्रेष्ठलाई त्यसमा पौवा चित्र बनाउन अनुरोध गर्नुभयो। श्रेष्ठद्वयले चिनियाँ रेशमी पङ्खामा हरिततारा अर्थात् भृकुटीको पौवाचित्र बनाउनुभयो।

'बेइजिङको प्रशिद्ध राष्ट्रिय संग्रहालय र फर्बिडन सिटीमा राखिएको प्रदर्शनीमा चिनियाँ रेशमी पङ्खामा कोरिएका चित्र र चीनमा त्यसको महत्व निकै उच्च हुने भएकाले हामीले यसमा नेपाली पौवा चित्र बनाउने बिचार गर्‍यौँ' क्रान्ति कायस्थले भन्नुभयो 'यो नयाँ आविष्कार भएको छ र प्रदर्शनीमा राखिएको यो पङ्खालाई चिनियाँले खुब मन पराएका छन्।' चीनमा नेपाली थाङ्काको व्यापार हुन थालेको दुई दशक पनि भएको छैन। दुई दशक अगाडिसम्म युरोप र जापान मात्र पुग्ने नेपाली थाङ्काको बजार अहिले चीनमा केन्द्रित भएको छ। परम्परागत नेवारी शैलीबाट बनाइने चित्रलाई पौवा चित्र भनिन्छ। जसमा हिन्दू देवी देवताका चित्रहरु बनाइन्थे। हिजोआज हिन्दू देवताभन्दा पनि मन्जुश्री, भृकुटी र बुद्धका विभिन्न स्वरुपलाई पौवा चित्रमा उतार्ने गरिन्छ। नेवारी पौवाचित्रबाट तिब्तबमा प्रवेश गरेपछि थाङ्का शब्दमा रुपन्तरण भएको मानिन्छ। नेवाली पौवाचित्र र थाङ्कामा सूक्ष्म भेद रहेको क्रान्ति बताउनुहुन्छ। थाङ्कामा चिनियाँ तिब्बती आकृतिहरु कोरिन्छ भने नेवारी पौवा चित्रमा नेपाली परम्परागत देवताको चित्रहरु कोरिन्छ। सामान्यत थाङ्काभन्दा पौवाचित्र महङ्गो पर्ने उहाँ बताउनुहुन्छ।

प्रदर्शनीमा श्रेष्ठद्वय बाहेक पूर्ण ह्योजू, दीपक जोशी, रत्नगोपाल सिङख्वाल, सजीव शाक्य, मिनु शाक्य र देवेन्द्र सिङख्वालका थाङ्का तथा पौवाचित्रहरु राखिएका छन्। 'बेल्ट एण्ड रोड नेपाल थाङ्का प्रदर्शनी' नाम दिइएको यो प्रदर्शनी भक्तपुरमा रहेको आर्ट काठमाडौँ र बेइजिङको गोरिल्ला जिम एण्ड फिटनेसको सहकार्यमा भएको हो। प्रदर्शनीको मुख्य उद्देश्य चीनमा नेपाली थाङ्काको प्रचारप्रसार गर्नु र दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई जनस्तरमा फैलाउनु रहेको कायस्थले बताउनुभयो।

जानकारी तथा लेखहरु