फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फलफूलमा लाग्ने किरा रोकथामा चिनियाँ विधि प्रभावकारी

(GMT+08:00) 2018-07-13 18:43:44

व्यावसायिक जुनार खेतीमा संलग्न सिन्धुलीका किसानलाई नोक्सानीको भार बोकाउँदै आएको चाइनिज सिट्रस फ्लाई (फल कुहाउने औंसा पार्ने झिँगा) लाई रोकथाम गर्न चिनियाँ विधि प्रभावकारी देखिएको छ। चार वर्ष अघिदेखि किसानले यो समस्या झेल्दै आएका थिए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(जुनार सुपर जोन एकाई), प्लान्ट डाक्टर देवराज अधिकारी र विषादी आयातकर्ता कर्मा समूहको सक्रियतामा बेइजिङ इकोम्यान बायोटेक कम्पनी लिमिटेडको ग्रीन पेष्ट म्यानेजमेन्ट विधिबाट चाइनिज सिट्रस फ्लाई(ब्याक्ट्रोसेरा मिन्याक्स प्रजातिको झिँगा ) नियन्त्रणमा आउन थालेको हो।यसका लाखको अन्तिम शुक्रबारदेखि प्रत्येक हप्तामा जुनारको बोटमा ग्रेट फ्रुट फ्लाई बेट (जिएफएफबी) स्प्रे गर्न थालिएको छ। यस क्रममा तीन वटा बोटको समूह(एक स्पट)मा एउटा बोटका पातको तल्लो भागमा जिएफएफबी स्प्रे गरिन्छ । जिएफएफबीको फर्मुलेसनमा प्रोटिन हाइड्रोलाइसेट २५ प्रतिशत र अबामेक्टिन ०.१ प्रतिशत (विषादी)को मिश्रण रहेको नागरिक दैनिकले जनाएको छ।

'चैत–वैशाख (अप्रिल–मे) महिनामा सिट्रस फ्लाईले बोट बिरुवाबाट निस्केका चोपबाट प्रोटिन लिन्छ । किनकी पोथी झिँगालाई वयस्क बेलामा फुल पार्नका लागि प्रोटिनको आवश्यकता हुन्छ। प्रोटिनको खोजीमा रहेको झिँगालाई जिएफएफबीमा रहेको विषादीले नष्ट गर्ने रहेछ। चीनमा यही तरिकाले प्रोटिनमा विषादी (बैट) मिसाइ स्प्रे गर्दा नियन्त्रणमा आएको अध्ययनहरुले देखाएकाले यही विधि अपनाएका हौं,' वरिष्ठ बाली संरक्षण अधिकृतसमेत रहेका प्लान्ट डाक्टर अधिकारीले भन्नुभयो।

चीनको हुपैलगायतका सुन्तला जात फलफूल खेती हुने प्रान्तहरुमा सिट्रस फ्लाईलाई रोक्न इकोम्यानले अपनाएको एरिया वाइड कन्ट्रोल प्रोग्राम (एडब्लुसिपी) लाई नै सिन्धुलीको गोलान्जोर गाउँपालिका–४ (साविक तीनकन्या–७) मा लागू गरिएको हो। 'एक भाग जिएफएफबीलाई २ भाग पानीमा मिसाएर घोल बनाइन्छ। त्यसरी तयार घोलको ५० मिलिलिटरले आधादेखि १ वर्गमीटर क्षेत्रफलमा स्प्रे गर्न पुग्छ। प्रति रोपनीमा ७ देखि ८ वटा 'स्पट' तोकिएको छ। जसमा २१ वटासम्म जुनारका बोट हुने गरेको छ। यस्तो ५ हजार ७ सय २० वटा स्पटमा रहेका बोटहरुमा १० जना कामदारहरुले प्रति हप्तास्प्रे गर्दै आएका छन्,' आलेले प्रक्रियाबारेमा जानकारी दिनुभयो।

नेपालमा भर्खरै सुरु भएको ग्रीन पेष्ट म्यानेजमेन्ट (एरिया वाइड कन्ट्रोल प्रोगाम) लाई बेइजिङ इकोम्यान बायोटेकले सन् २०११ र २०१२ मा चीनकै छोङछिङ, हुनान र हुपैमा अवलम्बन गरेको थियो । सन् २०१३÷१४ मा अफ्रिकाको घानामा र सन् २०१५ मा दक्षिण पूर्वी एशियाको थाइल्याण्डमा सुरु गरेको जनाएको छ।

नेपालका लागि नयाँ रहेको ब्याक्ट्रोसेरा मिन्याक्स चीनबाट भुटानमा पुगेको अध्ययनहरुले देखाएको छ। त्यसपछि भारतको सिक्किम हुँदै नेपालको पूर्वी पहाडी क्षेत्रमा आइपुगेको देखिन्छ। त्यहाँबाट सिन्धुली हुँदै क्रमशः अन्यत्र फैलँदैछ। सिट्रस फ्लाई गत वर्ष काभ्रे जिल्लामा र यो वर्ष सिन्धुपाल्चोकमा समेत आइपुगेको छ। प्राविधिकहरुका अनुसार झिँगाको उड्ने क्षमता र संक्रमित फलफूलको ओसार–पसारले यसलाई फैलाउनमा मद्दत गरिरहेको छ।

जानकारी तथा लेखहरु