फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अनुदानमा विद्युतीय बस सञ्चालन गर्ने काठमाडौँको तयारी

(GMT+08:00) 2018-07-14 15:22:16

काठमाडौँ महानगरपालिकाले उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने भएको छ। यात्रु चापको व्यवस्थापनका साथै वातावरणीय हिसाबले उपयुक्त हुने भएकाले विद्युतीय बस सञ्चालन गर्ने तयारीमा रहेको महानगरपालिकाले जनाएको छ। चीन सरकारको अनुदानमा त्यस्ता बस ल्याउने तयारी भइरहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार विद्युतीय बस ल्याउने विषयमा अहिले चीनसँग निरन्तर छलफल भइरहेको छ।

उपत्यकामा साना सार्वजनिक सवारी साधनभन्दा ठूला बसहरू सञ्चालन गर्दा यात्रु्लाई सहज हुनुका साथै ट्राफिक व्यवस्थापनमा सजिलो हुने भन्दै महानगरले ठूला बस सञ्चालनमा लगानी गरिरहेको छ। महानगरले साझा यातायातको बस थप गर्नका लागि अहिलेसम्म १५ करोड रुपियाँ लगानी गरिरहेको गोरखापत्र अनलाइनले जनाएको छ।

सञ्चालनमा रहेका साना सार्वजनिक सवारी साधनहरू माइक्रोबस, ट्याम्पोलगायतको व्यवस्थापन गरेर मात्र ठूला बस सञ्चालन गर्नुपर्ने अवस्था रहेको प्रवक्ता कार्कीले बताउनुभयो । साना सवारीलाई उचित विकल्प दिएर सही व्यवस्थापन गर्न सके मात्र जाम कम हुने र यात्रुलाई पनि सहज हुन्छ, उहाँले भन्नुभयो। साना सार्वजनिक सवारी साधनको नयाँ दर्ता कार्य रोक्नुपर्ने महानगरले जनाएको छ।

पछिल्लो समय संस्थागत रूपमा साझा यातायात, महानगर, सिटी मेट्रो, धुमबराही, मयुरजस्ता ठूलो बसहरू सञ्चालनमा छन् तर साना सवारीको व्यवस्थापन हुन नसक्दा सडक जाम झन् बढेको छ। कार्यालय समयमा यात्रुले बस नपाएर घण्टौँ कुर्नुपर्ने तथा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता नहटेको महानगरपालिकाले जनाएको छ।

साना सवारीलाई विस्थापन गरी ठूला सवारी साधन सञ्चालन गर्ने भनिए पनि नीतिगत रूपमा यसको व्यवस्थापन अर्थात् कार्ययोजना भने बनाइएको छैन। महानगरपालिका, यातायात व्यवस्था विभागलगायतका निकायहरूले ठूला बस सञ्चालनमा जोड दिए पनि साना बसको व्यवस्थापनमा भने खासै चासो दिएका छैनन्।

उपत्यकामा विद्युतीय बस सञ्चालन गर्दा चौतर्फी फाइदा हुने महानगरपालिकाले जनाएको छ । प्रवक्ता कार्कीका अनुसार यसले वातावरणीय प्रदूषण नगर्ने, यात्रुको चापलाई न्यूनीकरण गर्नुका साथै पेट्रोलियम पदार्थ हुने लगानीमा कम हुन्छ । पेट्रोलियम पदार्थको ढुवानी, तथा चुहावटको समस्यालाई पनि विद्युतीय बस सञ्चालनपछि रोकिने महानगरले जनाएको छ।

लोडसेडिङ हटिसकेको र नेपाललाई आवश्यक पर्ने विद्युत् अबको एक वर्षमा आपूर्ति हुने सम्भावना रहेकोले महानगरले विद्युतीय बस सञ्चालनको योजना अघि सारेको हो । भाडादर पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारीको विद्युतीय बसमा सस्तो पर्ने महानगरले जानकारी दिएको छ । विद्युत् नभएका कारणले विद्युतीय बस सञ्चालन हुन नसक्ने अवस्था अब नरहने महानगरपालिकाको अनुमान छ।

जानकारी तथा लेखहरु