फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भेरी बबई डाइभर्सन आधा सुरुङ खनियो

(GMT+08:00) 2018-07-16 14:18:48

भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम आधा सकिएको छ। भेरी नदीको पानी बबईमा ल्याउन १२ किलोमिटर दुई सय मिटर सुरुङ खन्नुपर्ने गोरखापत्र अनलाइनले लेखेको छ।

आयोजना प्रमुख शिवकुमार बस्नेतले आइतबार दिनुभएको जानकारी अनुसार काम सुरु गरेको छ महिनामा झण्डै छ किलोमिटर सुरुङ खन्ने काम भएको छ। चीनबाट मगाइएको टनेल बोरिङ मेसिन (टीबीएम) ले अपेक्षाभन्दा राम्रो काम गर्दा छोटो अवधिमा यो उपलब्धि हासिल भएको हो।

प्रमुख बस्नेतले भन्नुभयो, आजसम्म पाँच किलोमिटर छ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ। तीन÷चार दिनदेखि टीबीमएम नियमित मर्मत सम्भारको क्रममा रहेको छ। अब एक÷दुई दिनको मर्मतपछि काम सुरु हुन्छ।

आयोजनाको कुल सुरुङको लम्बाइ १२ किलोमिटर दुई सय मिटर हो। आधा जति सुरुङ खन्न सफलता मिलेपछि अब खासै गाह्रो नहुने तर्क आयोजनाका अधिकारीको रहेको छ।

राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा राम्रो र उत्कृष्ट काम भएकाले सरकारले आगामी वर्षको आयोजनालाई चाहिने जति बजेट व्यवस्था गरेको छ। आगामी वर्ष रकमका अभाव नहुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्माले बताउनुभयो।

चालू आर्थिक वर्षको बजेट वक्तव्यमा जम्मा ८० करोड रुपियाँ मात्र विनियोजन गरिएको थियो तर आयोजनाको कार्य प्रगति हेरेर नै अर्थ मन्त्रालयले हालसम्म झण्डै चार अर्ब रुपियाँको व्यवस्थापन गरिसकेको छ।

पराम्परागत प्रविधि र ब्लास्टिङ गरेर सुरुङ खनेको भए एक किलोमिटर सुरुङका लागि एक वर्षभन्दा बढी समय लाग्ने देखिन्छ। टनेल बोरिङ मेसिन (टीबीएम) ले खन्न सुरु गरेपछि छ महिनाको अवधिमा झण्डै छ किलोमिटर प्रगति भइसकेको छ। चिनियाँ निर्माण ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड सुरुङ खन्न काम गरिरहेको छ। टीबीएमले खन्न सुरु गरेपछि एकैदिनमा ४८ मिटरसम्म सुरुङ खन्न सफलता मिलेको छ। ठेकेदार कम्पनीले प्रतिदिन डेढ करोड रुपियाँसम्मको भुक्तानी लिने गरी काम गरिरहेको आयोजनाले बताएको छ। हाल टीबीएमले दैनिक २५ देखि बढीमा ४२ मिटर सम्म सुरुङ खन्ने गरेको छ।

आयोजनाले सन् २०२० सम्ममा सुरुङ खनिसक्ने कार्ययोजना बनाएको छ। आयोजनालाई सिँचाइ र जलविद्युत्सहितको बहुद्देश्यीय बनाइएको छ। आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुग्नेछ भने ४८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

सो मेसिनद्वारा सुर्खेतको हात्तीखालदेखि चिप्लेसम्मको ४.२ ब्यास ( डाइमिटर) को १२ किलोमिटर सुरुङ खन्नेछ। सरकारले २०७१ साल माघ १५ गते सरकारले यो कम्पनीसँग सम्झौता गरेको थियो। सो चिनियाँ कम्पनीले चार वर्ष १० महिनामा कार्य सम्पन्न गर्ने प्रतिबद्धता सम्झौतापत्रमा गरेको छ। सुरुङ निर्माण गर्नका लागि मात्र १० अर्ब ५६ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ। यो आयोजनाको निर्माणपछि बिजुलीबाट वार्षिक रूपमा दुई अर्ब रुपियाँ र सिँचाइइतर्फ वार्षिक अढाई अर्ब रुपियाँ फाइदा हुने सरकारी अनुमान रहेको छ।

जानकारी तथा लेखहरु