फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जलविद्युत आयोजनाले दैनिक १५० स्थानीयलाई गाउँमै रोजगारी

(GMT+08:00) 2018-07-17 14:55:51

हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १५० जनाले रोजगारी पाएका छन्। जिल्ला सदरमुकाम बेनीदेखि चार घण्टाको गाडीको यात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्री खोला, पाँच मेगावाटको घलेम्दी खोला र ३८ मेगावाटको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण भइरहेका नेपाल खबर अनलाइनले लेखेको छ।

यी जलविद्युत् आयोजनाबाट स्थानीयले रोजगारी पाउनुका साथै मासिक न्यूनतम १५ हजारदेखि ५० हजार रुपैयाँसम्म कमाइ गर्दै आएका स्थानीय २९ वर्षीय वीरबहादुर पुनले जानकारी दिनुभयो। पाँच वर्षदेखि घलेम्दीमा सुरुङ मार्गको सहइञ्चार्ज भएर काम गरिरहेका पुनः गाउँमै रोजगारी पाएपछि खुसी हुनुहुन्छ। त्यसैगरी स्थानीय नरेश पुन केही वर्ष कतार बसेर स्वदेश फर्किनुभयो।

गाउँकै सबै युवा जलविद्युत्का काममा व्यस्त बनेको देखेर उहाँलाई विदेश मोह हट्यो। तीन वर्षदेखि उहाँ घलेम्दीमै कामदारका नाइके हुनुहुन्छ। 'म विदेश जाने बेलामा जलविद्युत् आयोजना बन्ने भन्ने हल्ला मात्रै थियो, फर्केर आउँदा सबै निर्माण चरणमा थिए', नरेश भन्नुहुन्छ, 'क्षमताअनुसारको काम पनि पाइयो अहिले ठीकै छ।' गाउँमै पाएको जागिरले उहाँलाई कतारको भन्दा बढी सन्तुष्टि दिएको छ।

स्थानीय महेन्द्र गर्बुजाका अनुसार घलेम्दी र मिस्त्रीमा दैनिक १५० जनाले काम पाइरहेका छन्। 'अब नीलगिरिले पनि कामदार खोजिरहेको छ अब त रोजीरोजी जागिर गर्न पाइन्छ', उहाँले सुनाउनुभयो, 'गाउँमा जलविद्युत् आयोजनाले नै परिवर्तन हुँदोरहेछ भन्ने कुरा बुझ्दैछौं।'

स्थानीयले आयोजनामा काम मात्र पाएका छैनन्, त्यहाँ काम गर्नेका लागि किराना पसलदेखि होटल सञ्चालन गरेर पनि कतिपय स्थानीयले आम्दानी गरिरहेका छन्। घलेम्दीको विद्युत्गृह र मिस्त्रीको बाँधस्थल एकै स्थानमा पर्छ।

अहिले त्यहाँ करीब २०० कामदार छन्। त्यसैलाई लक्ष्य गरेर स्थानीय धनबहादुर पुनले किराना पसल सञ्चालन गर्नुभएको छ। 'कामदारले मात्र होइन जलविद्युत् आयोजनाको अवलोकनका लागि हरेक दिन विभिन्न ठाउँका पर्यटक पनि आउँछन् त्यसैले व्यापार राम्रै छ' दुई वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएका पुनले सुनाउनुभयो।

नारच्याङका वडाध्यक्ष चन्द्रप्रसाद फगामी गाउँमा निर्माणाधीन जलविद्युत् आयोजनाले स्थानीयलाई राम्रो रोजगारी प्रदान गरिरहेको बताउनुहुन्छ।

जानकारी तथा लेखहरु