फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु

(GMT+08:00) 2018-07-19 17:11:30
चिनियाँ अधिकारीहरूले झापाका नौवटा नदीमा तटबन्ध निर्माणको गुरुयोजना बनाउन प्रारम्भिक सर्वेक्षणको काम शुरु गरेका छन्। चिनियाँ प्रविधिज्ञ याउको नेतृत्वमा आएको सात सदस्यीय टोलीले सर्वेक्षण शुरु गरेको राष्ट्रिय समाचार समितिले लेखेको छ। टोलीमा केही पूर्वाधार विज्ञ रहेको समाचारमा उल्लेख छ।

टोलीले झापाको मावा, रतुवा, कमल बनियानी, कृष्णे, सतासी, कन्काइ, बिरिड्ग, निन्दा र हडिया नदीको वस्तुस्थितिको अध्ययन गर्नेछ। टोलीले पहिलो दिन आज झापा र मोरङमा पर्ने मावा नदीको अध्ययन गर्‍यो।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार जिल्लाका मुख्य सबै नदीको बहाव नियन्त्रण गर्न गुरुयोजना बनाउन चिनिया प्राविधिक टोलीले स्थलगत अध्ययन शुरु गरेको हो।

टोलीले नदीहरूको अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ। त्यसै आधारमा यसै वर्षदेखि तटबन्धको काम शुरु गर्ने सरकारको योजना छ।

चिनिया टोलीले १५ दिन जिल्लामा बसेर झापाका मुख्य नदीहरूको अध्ययन गर्नेछन्। जिल्ला समन्वय समितिका प्रमुख पोर्तेलले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा भएको समझदारीअनुरुप टोली अध्ययनका लागि आएको बताउनुभयो।

टोलीले समग्रमा झापाका नौवटा मुख्य नदीहरूको वस्तुस्थितिको अध्ययन गर्नुका साथै स्थानीय तहका प्रमुख र प्रभावित क्षेत्रका बासिन्दाका मागको समेत अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो। यी नदीहरूबाट प्रत्येक वर्ष जिल्लाका ४० हजार जनसंख्या प्रभावित हुँदैआएका छन्।

जानकारी तथा लेखहरु