फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हराउँदै रैथाने धानका जात

(GMT+08:00) 2018-07-19 17:13:18
नेपालमा रैथाने जातका धानहरु हराउँदै गएका छन्। अचेल बास्मतीको बीउसमेत पाइँदैन। काली मार्सी, जडन, अनदी र टाइचन जातका धानसमेत लोप भइसकेका छन्। बजारमा आएको उन्नत र हाइब्रिड जातले रैथाने विस्थापित भइसकेको कान्तिपुर अनलाइनले लेखेको छ। 'कहिलेकाहीँ स्वाद फेर्नलाई थोरै जग्गामा रोप्न बीउ खोज्दा पनि कतै पाइएन,' अर्घाखाँचीका हिमलाल बेल्बासेले भन्नुभयो। थोरै जग्गामा धेरै उत्पादनको होडबाजी र कृषि कार्यालयले उन्नत र हाइब्रिड भित्र्याएपछि रैथाने धान हराउँदै गएको उहाँले बताउनुभयो। 'हाइब्रिड र उन्नत जातको धान उत्पादन तेब्बर हुन्छ,' उहाँले भन्नुभयो, 'तर, खानलाई मिठो, स्वादिलो र नरम त उही रैथाने नै थिए। नयाँ जातको चामल खानलाई रसिलो छैन।' खोज्दा बीउ पाइएसम्म बास्मती, काली मार्सी, सानो र ठूलो मार्सी, अनदी, जडन धान नै थोरै जग्गामा खेती गर्ने सोचमा उहाँ हुनुहुन्छ।

बिरामी परेका बेला तागत दिन्छ भनेर यही धानको चामलको भात खाने चलन थियो। भिटामिन 'बी' कम्प्लेक्स र पोषक तत्त्वको मात्रा बढी भएको धान मानिन्छ। तर, उत्पादन थोरै भएकाले हराउँदै गएको छ।

छिमेकीको खेतमा लटरम्मै धानका बाला फलेको देखेपछि दमारबेंसीका टानबहादुर पुलामीको मन बदलियो। लामेलगायत रैथाने जात चटक्कै छाडेर २० रोपनी खेतमा हाइब्रिड खेती गर्नु भएको छ। 'धेरै फलेपछि बिक्री गर्नसमेत पुगेको छ,' उहाँले भन्नुभयो, 'रैथानेभन्दा हाइब्रिड र उन्नत झन्डै तेब्बर फल्यो। बाला लामा, बोट छोटो भएपछि ढल्दैन।' थोरै फल्ने भएकाले रैथाने जात जोगाउन मुस्किल परेको उहाँले बताउनुभयो।

धानको गुणभन्दा पनि फल्ने मात्राको लेखाजोखामा किसानको ध्यान छ। उत्पादनमा कमी, जनसंख्या बढ्दो, जग्गा घट्दो भएका कारण धेरै फल्ने जातको खोजीमा किसान रहेको उहाँले बताउनुभयो। बास्मती, अनदी, काली मार्सीलगायत रैनाथे प्रतिहेक्टरमा २.६ टन उत्पादन हुन्छ भने खुमल ८ जातको धान ७.७ टन उत्पादन हुन्छ। हाइब्रिड त्यसभन्दा पनि धेरै फल्छ।

ढाकाबाङका वृद्ध भीमकान्त खनाल पुरानो जात लोप भएकामा चिन्तित हुनुहुन्छ। 'हाम्रो पालामा मलका लागि गोठभरि गाईभैंसी र बाख्रा पाल्थ्यौं,' उहाँले भन्नुभयो, 'मल, छापो र पातपतिंगर बाक्लै राखेर रोप्नुभन्दा साताअघि खेत हिल्याएर राख्थ्यौं। आकाशबाट पानी पर्नासाथ धमिलो पानीले खेत भिजाइँदा मल प्रशस्त पुग्थ्यो।' अहिलेको खेती गराई उहाँलाई पटक्कै मन पर्दैन। नयाँ जातको धान युरिया मलकै भरमा फलाइन्छ। गाईभैंसीको मल र बाख्राको जुतो (मल) खासै पर्दैन। बुढेसकालमा मिठो नभए पनि खानुपरेको उहाँले बताउनुभयो।

खाकाबेंसीको २५ रोपनी खेतमा धान खेती हुन्थ्यो। आकाशको पानीको भरमा खेती हुने टारी खेत अहिले बाँझै छन्। 'मैले यही खेतबाट आठजनाको परिवार पालेको थिएँ,' खनालले विगत सम्झनुभयो, 'अहिले तेब्बर फल्ने धानले चारजनाको परिवारलाई वर्ष दिन दु:ख गर्दा ६ महिनालाई खान पुग्दैन। कारण, गोबर मल नहाल्नु र युरियाकै भर पर्नु हो।' बजारको चामलको भात निल्नै मुस्किल परेको उहाँले बताउनुभयो।

बाङलाको मथुराबेंसीको चार रोपनी खेतमा भूमकला पाण्डेले हाइब्रिड जात रोप्नुहुन्छ। घरमा बीउ रहँदैन। ब्याड राख्ने बेलामा एग्रोभेटमा जानुहुन्छ र बीउ ल्याएर राख्नुहुन्छ। बर्सेनि बीउ फेर्नुहुन्छ। 'बजारमा बीउ आइहाल्छ,' उहाँले भन्नुभयो, 'थोरै जग्गामा धेरै उत्पादन हुने भएकाले बर्सेनि एग्रोभेट पसल धाउँछु।' पुरानो धानको चामलको भात मिठो त हुन्थ्यो तर के गर्ने थोरै फल्छ, कृषि कार्यालयका प्राविधिकले पनि उन्नत र हाइब्रिडकै कुरा गर्ने उहाँले बताउनुभयो।

अर्घाखाँचीमा रैथाने जडन, सानो र ठूलो मार्सी, काठे धान, पालुंगे, बुचे, अनदी, टाइचन, बास्मती, लामे, जिनुवा, काँचुलीलगायत ३० थरीमध्ये २५ थरीका जात लोप भइसके। जिल्लामा ८ हजार १ सय ८९ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिन्छ।

त्यसबाट २४ हजार ४ सय ९० टन उत्पादन हुन्छ। ४ सय ८३ हेक्टर क्षेत्रफलमा हिउँदे धान खेती हुन्छ। त्यसबाट ९ सय ५६ टन धान उत्पादन हुन्छ। हर्दीनाथ एक, हिर्दीनाथ दुई, चैते एक र चैते दुई जातका धान हिउँदमा रोपिन्छ।

वर्षेमा हाइब्रिड, उन्नत, खुमल ४, ८ र १० जातका धान यतिबेला धमाधम रोपाइँ भइरहेको कृषि प्रसार अधिकृत थीरलाल गैरेले बताउनुभयो। अहिलेसम्म १५ प्रतिशत रोपाइँ भएको छ। 'एक रोपनीमा रैथाने जातको धान २ सय किलो, उन्नत ३ सय किलो र हाइब्रिड ५ सय किलोसम्म उत्पादन हुन्छ तर खानलाई खासै मिठो हुँदैन,' गैरेले भन्नुभयो, 'धेरै उत्पादन गर्ने होडले रैथाने जात लोप भइसके।'

जानकारी तथा लेखहरु