फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिया लिलामी बजारको बाटो बन्द

(GMT+08:00) 2018-07-21 15:06:49

नेपाली चियाको लिलाम बिक्री केन्द्र (अक्सन मार्केट) बनाउन अध्ययन र अवलोकनमै करिब एक करोड खर्च भइसकेपछि सरकार अक्सन मार्केट बनाउनै पछि हटेको छ। आर्थिक वर्ष २०७५/७६ का लागि सरकारले ल्याएको बजेटमा चिया र चियाको अक्सन मार्केटलाई कतै नसमेटिएपछि सरकार अक्सनका लागि पछि हटेको पुष्टि भएको गोरखापत्र अनलाइनले लेखेको छ। सरकारले बजेटमा कृषि भनेर एकमुष्ट सम्बोधन गरेको छ, चिया र अक्सन मार्केट भन्ने शीर्षक नै छैन, हामीले मन्त्रालयमा लेखेर चाहिँ पठाएका छौँ, चिया तथा कफी विकास बोर्डका योजना अधिकृत गौरव लुइँटेलले भन्नुभयो, नयाँ अर्थिक वर्षमा अक्सनका विषयमा यसै भन्न सक्ने अवस्था रहेन, विगतदेखि नै अक्सन निर्माणका लागि करिब एक करोड रुपियाँ खर्च भइसकेको छ।

चिया क्षेत्र र चियाको अक्सन मार्केटका लागि सरकारले सम्बोधन नगरेपछि चिया किसान भने असन्तुष्ट भएका छन्। चियाको अन्तर्राष्ट्रिय बजार नहुनु, ट्रेडमार्कमा ढिलाइ हुनु र उत्पादित तयारी चियालाई भारतको कोलकाताकै अक्सनमा पठाउनु पर्ने बाध्यताले किसान सरकारसँग रुष्ट भएका हुन्।

अक्सन बनाउने ठाउँ, अक्सनको सम्भाव्यता आदिका विषयमा त्यति धेरै प्रयास गरियो आखिर के हुन सक्यो र ? केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहालले भन्नुभयो, सरकारले चिया बुझेको छैन, विदेशी मुद्रा आर्जनको बाटो देखेको छैन, जबसम्म किसानमाथि पुग्न सक्दैनन् तबसम्म चियाका निम्ति केही हुन्छ जस्तो लाग्दैन।

दुई वर्षयता नेपाली चियाको अक्सनका लागि झापाको धुलाबारी र विर्तामोडलाई स्थान छनोट गरिएको चिया विस्तार आयोजना फिक्कलका प्रमुख इन्द्र अधिकारीले बताउनुभयो। अक्सन कार्यालय, वायर हाउस, ल्याब बनाउन पनि त्यसबेला अध्ययन गरिएको थियो।

सरकारले चिया र अक्सन मार्केटलाई आफ्नो प्राथमिकतामा नराखेपछि सूर्योदय नगरपालिकाले भने अक्सन मार्केट निर्माणका नगरसभाबाटै प्रस्ताव पारित गरेर पठाएको छ। सूर्योदय नगरपालिका चियाको राजधानी हो, यस नगरपालिकाको सम्पत्ति पनि यही चिया हो, चियालाई कसरी तेस्रो मुलुकमा पु¥याउने भन्ने चिन्ताको विषय छ।

सूर्योदय नगरप्रमुख रणबहादुर राईले भन्नुभयो, त्यसैले यो नगरपालिकालाई पूर्ण अर्गानिक गर्दै चियाको अक्सन मार्केट पनि बनाउनु पर्छ भन्ने हाम्रो माग छ तर भारतसँगको वाणिज्य सन्धि, पारवहन सन्धिजस्ता विषयलाई गम्भीरता साथ नलिए नेपाली निर्यातको अवस्था धरासयी हुने राईले बताउनुभयो।

गत चैतमा विदेशी क्रेताहरू ल्याएर अन्तुमा इलाममा उत्पादित साना उद्योगको 'टी टेस्टिङ' गराएको नगरपालिकाले चियाको संरक्षण र विकास आफ्नो आर्थिक उन्नतिको फरक पाटोका रूपमा लिएको नगरप्रमुख राईको भनाइ छ। नौ देशमा विदेशी वायरले यहाँको टी टेस्टिङ गरेर अत्यन्तै मन पराए, उनीहरूको एक मात्र शर्त पूर्ण विषादीरहित चिया बनाउ भन्ने हो, त्यसमा हामी सचेत भएका छौँ, राई भन्नुहुन्छ, अब अर्गानिक चिया बनाएर अक्सन मार्केट बनाउँदा हामी निकै सबल हुनेछौँ।

अहिलेसम्म भारतको कोलकाताकै भर परेको नेपाली चियाका लागि अबको समय थप जटिल बनेको राईले बताउनुभयो।

पहिला सिमानामा चियाका लोड गाडी राखेर अर्गानिक टेस्टिङका लागि १६ दिनसम्म कुर्नुपथ्र्यो, अब भारतले काँकडभिट्टासँग जोडिएको नेपाल–भारत सिमाना पानी ट्याङ्कीमा टेस्टिङ सेन्टर निर्माण सुरु गरेको छ।

राईले भन्नुभयो, यसको अर्थ सिमानामै हाम्रो उत्पादन रोकिने स्थिति हो, यदि नेपाली उत्पादन पूर्ण अर्गानिक भएन भने सिमाना नै पार गर्न पाउँदैन। यी सबै विषयलाई मध्यनजर गरी सरकारले चियाका निम्ति नेपालमै अक्सन मार्केट, पूर्ण अर्गानिक उत्पादनमा जोड दिनु आवश्यक छ।

यसअघि नेपालमा अक्सन चलाउँदा अक्सनमार्फत बिक्री हुने चियाको ६० प्रतिशत भ्याट फिर्ताको व्यवस्था, अक्सनमा राखिएको चियालाई धितो राखेर ऋण लिन पाउनुपर्ने माग र अक्सन चलाउन सुलभ ऋणको व्यवस्था हुनुपर्ने प्रस्ताव व्यवसायीले गरेका थिए तर व्यवसायीको माग बजेटमा नसमेटिएपछि अक्सन सञ्चालन नहुने निश्चित भएको हो।

जानकारी तथा लेखहरु