फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको समृद्धिका लागि सहयोग जारी रहने अमेरिकी राजदूतको भनाइ

(GMT+08:00) 2018-07-21 15:08:46

नेपालका लागि अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले नेपाल समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताउनु भएको छ। उहाँले राजनीतिक स्थिरतापछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएकाले यसको उपयोगमा नेताहरू नचुक्ने विश्वास आफ्नो रहेको बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

आफ्नो कार्यकाल सकेर स्वदेश फर्कनुअघि उहाँ नेपाली नेताहरूसितको बिदाइ भेटमा व्यस्त हुनुहुन्छ। उहाँले शुक्रबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसित भेट गर्नु भएको थियो। नेपालमा रहेर काम गर्न पाउँदा निकै खुसी लागेको उल्लेख गर्दै राजदूत अलैनाले नेपालको विकासमा अमेरिकी सहयोग र साथ सधैं रहने बताउनुभयो। उहाँले दाहालले शान्ति प्रक्रियामा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै नेपालको दिगो शान्तिको कामनासमेत गर्नुभयो। पूर्वप्रधानमन्त्री दाहालले टेप्लिट्जको कार्यकाल सफल रहेको बताउनुभयो। 'नेपालको विकास र प्रगतिमा तपाईंले खेलेको भूमिका सकारात्मक रह्यो। नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायित्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहने आशा छ,' उहाँले भन्नुभयो।

उहाँले आगामी दिनमा नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकारको सहयोग र समर्थन रहने विश्वास व्यक्त गर्नुभयो। राजदूत टेप्लिट्जले बिहीबार प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासित समेत बिदाइ भेट गर्नु भएको थियो।

जानकारी तथा लेखहरु