फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गुन्द्रुक पनि चीनबाट आयात

(GMT+08:00) 2018-07-22 15:01:50

गुन्द्रुक नेपाली मौलिक तरकारी हो। देशभित्र मात्र होइन, विदेशका नेपालीका भान्छामा यो पुग्छ। निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमेत चीनबाट ल्याइने गरिएको छ। रसुवागढी नाका हुँदै दुई वर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय टिमुरेले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

दुई लाख रुपैयाँभन्दा बढीको गुन्द्रुक आयात भएको देखिन्छ। कार्यालयका अनुसार २०७३/७४ मा ७ सय ३ किलो र २०७४/७५ मा १ सय ४० किलो गुन्द्रुक भित्रिएको हो। व्यापारीहरूका अनुसार बजारमा प्रतिकिलो गुन्द्रुकको मूल्य २ सय २० रुपैयाँदेखि २ सय ५० रुपैयाँ छ।

नेपालीहरूको भान्छामा तरकारी र अचारका रूपमा यसको प्रयोग हुँदै आएको छ। आयात हुनेमा तोरी र रायोको गुन्द्रुक छ। आयातकर्तामध्ये पोखरा एक्स्पोर्ट इम्पोर्ट प्रालिका कर्मचारी सन्तोष श्रेष्ठका अनुसार चीनबाट आउने गुन्द्रुकको बढ्ता बजार ठमेल हो। उताको गुन्द्रुक ठयाक्कै नेपालको जस्तो नभए पनि खास फरक हुँदैन। उहाँका अनुसार नेपालमा रहेका वा आउने चिनियाँलाई ध्यानमा राखेर गुन्द्रुक आयात गर्ने गरिएको हो।

रसुवागढी नाकाबाट कृषि तथा वनजन्य सामग्रीको आयात/निर्यात भने पछिल्लो समयमा घटेको छ। २०७४/७५ मा आयाततर्फ ४२ प्रतिशत र निर्याततर्फ १३ दशमलव ६१ प्रतिशतले घटेको प्लान्ट क्वारेन्टाइन प्रमुख रामनारायण यादवले बताउनुभयो। 'नाका भएर एक अर्ब १९ करोड २२ लाख ६६ हजार मूल्यबराबरको २२ हजार ४ सय ३६ टन कृषि तथा वनजन्य सामग्रीको आयात भएको छ,' उहाँले भन्नुभयो। आयात हुने कृषि तथा वनजन्य सामग्रीहरूमा स्याउ, नास्पाती, लसुन, प्याज, तयारी मसला, गुन्द्रुक, सुक्खा च्याउ, प्याज, बोडी, धानको बीउ, पिठो, ओखर, बदाम, अचार, कफी, ग्रिन टी र सुकेको बयर छन्।

चीनबाट २०७४/७५ मा १ सय ४ टन धानको बीउ आयत भएको यादवले जनाए। त्यस्तै, २०७३/०७४ मा २ अर्ब ५ करोड १२ लाख २७ हजार मूल्यबराबरको ४० हजार २ सय ९५ टन कृषि तथा वनजन्य सामग्रीहरू आयात भएको कार्यालयको तथ्यांकमा छ। स्याउ आयातमा ४५ प्रतिशतले कमी आएको छ। २०७३/७४ मा ३९ हजार ५६ टन स्याउ आयात भएको थियो। ०७४/७५ मा यो घटेर २१ हजार ४ सय ७८ टन पुगेको छ। रसुवागढी नाका भएर चीनतर्फ निकासी हुँदै आएको कृषि तथा वनजन्य सामग्रीको निर्यात पनि घटेको क्वारेन्टाइनले जनाएको छ।

रसुवागढी नाका हुँदै २०७४/७५ मा दुई करोड ९७ लाख ९० हजार मूल्यबराबरको सामग्री निर्यात भएको छ। नेपालबाट चीनतर्फ निर्यात हुने सामग्रीहरूमा अम्रिसोको कुचो, मुढा, काठबाट बनेको कप, प्लेट, टेबल, आँखीझ्याल र धूपदानी रहेको छ। २०७३/७४ मा ३ करोड ४४ लाख ८६ हजार मूल्यबराबरको सामग्री निर्यात भएको थियो। रसुवागढी नाकाबाट कृषिजन्य सामग्री निर्यात हुन सकेको छैन। भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ। रसुवागढी नाकालाई २०७४ भदौ १४ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढदै गएको छ।

जानकारी तथा लेखहरु