फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत रेलका लागि नेपालमा रेलमार्ग, प्रविधिलगायत क्षेत्रका विज्ञको खोजी

(GMT+08:00) 2018-07-23 14:47:45
दुवै छिमेकबाट काठमाडौंसम्म रेल ल्याउने प्रक्रियाको गृहकार्य सुरु हुन थालेपछि रेल विभागले पनि रेलमार्ग, प्रविधिलगायत विषयका विज्ञ नेपालीको खोजी गर्न थालेको छ। विदेशमा रहेर काम गर्दै आएका त्यस्ता व्यक्तिलाई नेपाल बोलाएर अन्तरक्रिया गर्दै विभागले रेलको प्रविधिबारे बुझ्न थालेको हो। विभागले आइतबार ६० इन्जिनियरसँग अन्तरक्रिया गरेको थियो ।

नेपालमा २ सयभन्दा बढी इन्जिनियरले रेलका बारेमा चासो राखे पनि करिब एक सय मात्रले रेल, रेलमार्ग तथा भूगोलका बारेमा अध्ययन गरेको पाइएको विभागको जानकारीमा छ। नेपालको भूगोल बुझेको र यस्तै भूगोलमा काम गरेका इन्जिनियरहरूलाई प्राथमिकतामा राखेर नेपालले आफूसँग पनि योग्य प्राविधिक भएको सन्देश दुवै छिमेकी मुलुकलाई दिन खोजेको हो। प्राविधिक अध्ययनपछि हुने वार्तामा बस्न पनि यस्ता विषयमा ज्ञान हुनुपर्ने भएकाले त्यसमा स्वदेशी विज्ञको खोजी भएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

थाइल्यान्ड, कजाखस्तान, दक्षिण कोरिया र चीनमा रेलको पछिल्लो प्रविधिबारे अध्ययन र कामसमेत गरिरहेकाहरूलाई सरकारले सम्पर्कमा ल्याउँदै उनीहरूको अनुभवको उपयोग गर्न थालेको छ। यससँगै छिमेकी भारत र चीनका प्राविधिकसँग पनि नेपालले अन्तरक्रिया गरिरहेको छ।

पछिल्लो समय १५ इन्जिनियरहरूले चीनबाट र ३० जनाले दक्षिण कोरियाबाट रेलबारे छोटो कोर्स गरेर फर्केका छन् । यस्तै, चीनमा इन्जिनियरिङमा उच्च शिक्षा लिइरहेकाहरू ५ जना सम्पर्कका आएको पनि विभागले जनाएको छ।

रेलबारे पुल्चोकको कोर्समा राख्नसमेत आग्रह गरिरहेको विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताउनुभयो। थाइल्यान्डलाई कर्मथलो बनाएर काम गरिरहेका जिओ टेक्निकल इन्जिनियर वीरेन्द्रमान प्रधानले नेपालमा रेलको बहस सुनेर आफूले पछिल्लो प्रविधिबारेमा जानकारी दिएको बताउनुभयो। रेलबारे विश्वमा विकसित पछिल्ला प्रविधिहरूको जानकारी दिँदै नेपालमा रेलको सम्भावना बढ्दै गएको उहाँको भनाइ छ।

टनेल र खुला भाग गर्दै नेपालमा रेल गुडाउन सकिने उहाँको धारणा छ । प्रविधिको उपयोग गरेमा बाहिर आएजति महँगो पनि नहुने भन्दै उहाँले वार्तामा बस्दा पनि प्राविधिक पक्षमा जानकार भएर जान आवश्यक रहेको सुझाव दिनुभयो।

भारत र चीनले अनुदानमा नेपालमा रेल बनाउने भनिए पनि त्यो सहयोग हुनाले जतिसक्दो सुपथ मूल्यमा र कसरी आधुनिक बनाउने भन्नेमा जोड दिनुपर्ने हुन्छ। नयाँ प्रविधिको ज्ञान नभएमा वार्तामा रहँदा टाउको हल्लाउनेबाहेक अर्को अवस्था आउने विज्ञहरूको भनाइ छ।

केरुङ-काठमाडौंको प्रि-भिजिबिलिटी अध्ययन सम्पन्न भएको छ भने वीरगन्ज-काठमाडौं मार्गको पनि भारतीयहरूले फिल्डवर्क सकिसकेका छन्।

थाइल्यान्ड, दक्षिण कोरिया, सिंगापुर र चीनलगायतका मुलुक र विश्वविद्यालयले रेल अध्ययनबारे नेपाली प्राविधिकलाई छात्रवृत्तिसमेत उपलब्ध गराएका छन् । भारतमा पनि यसै विषयमा अध्ययन गरेर फर्केकाहरू छन्।

जानकारी तथा लेखहरु