फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा अब नेपाली नम्बर प्लेटका गाडीले पनि निर्बाध प्रवेश पाउने

(GMT+08:00) 2018-07-24 14:30:11

भारतमा अब नेपाली नम्बर प्लेटका गाडीले निर्बाध प्रवेश पाउने भएका छन्। नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भारतको सडक परिवहन तथा राजमार्ग मन्त्रालयका सहसचिवको नेतृत्वमा नयाँ दिल्लीमा भएको बैठकमा भारतीय पक्ष नेपाली नम्बर प्लेटका गाडीहरूलाई सहज ढंगले भारत प्रवेश र आवागमन गर्न अनुमति दिन सहमत भएको हो।

सन् २०१४ मा भएको नेपाल–भारत मोटर भेहिकल सम्झौताअन्तर्गत संयुक्त कार्य समूहको शुक्रबार नयाँ दिल्लीमा सम्पन्न बैठकमा उक्त विषयमा सहमति जुटेको हो। 'बैठकमा नेपाली नम्बर प्लेटका सवारीसाधनलाई भारतीय गाडीहरूले पाएजस्तै पारस्परिक रूपमा सुविधा दिन र तत्काल आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति भएको छ,' नेपाली वार्ता टोलीका प्रमुख भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले भन्नुभएको कान्तिपुरले जनाएको छ।

नेपाली नम्बर प्लेटका सवारीसाधनहरूले भारत प्रवेश गर्दा झन्झटिलो र लामो प्रक्रिया पूरा गर्ने बाध्यता रहेको हुँदा त्यसलाई भारतीय नम्बर प्लेटका सवारी साधानले नेपाल प्रवेश गर्दा पाएको जस्तो सुविधा उपलब्ध गराउन विगत लामो समयदेखि नेपाली पक्षले माग गर्दै आएको थियो। भारतीय नम्बर प्लेटका गाडीहरूले नेपाल प्रवेशका लागि अनुमति पाउन भन्सार विन्दुमा न्यूनतम शुल्क तिर्दै सामान्य प्रक्रिया पूरा गरे मात्र पुग्छ। त्यस्तो अनुमति लिएपछि ती गाडीहरू नेपालभर निर्बाध ढंगले गुड्ने गर्छन्।

जबकि नेपाली नम्बर प्लेटका सवारीसाधनहरूले भारतीय भूमिमा प्रवेश गर्नुअघि लामो र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता रहँदै आएको छ। नेपाली सवारीसाधनहरूले भारतीय दूतावास वा वीरगन्जस्थित भारतीय कन्सुलेटको कार्यालयबाट पूर्वअनुमति लिनुपर्ने बाध्यता छ । त्यसका अतिरिक्त लामो कागजी प्रक्रियासमेत पूरा गर्नुपर्ने हुन्थ्यो । त्यसैकारण नेपाली पक्षले विगत लामो समयदेखि भारतीय सवारीसाधनले जस्तै पारस्परिक हिसाबले सुविधा दिन माग गर्दै आएको थियो।

यसबाहेक शुक्रबारको बैठकमा नेपाल र भारतबीच हाल सञ्चालनमा रहेका अन्तरदेशीय बस सेवाअन्तर्गत जनकपुर–अयोध्या रुटलाई समेत औपचारिक रूपमा समावेश गर्ने निर्णय भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द मोदीको गत जेठमा भएको नेपाल भ्रमणका बेला जनकपुर–अयोध्या बस सेवाको सांकेतिक रूपमा उद्घाटन गरिएको थियो। तर, उक्त रुटले औपचारिकता नपाएका कारण जनकपुर–अयोध्या बस सेवा उद्घाटनमै सीमित थियो। शुक्रबार सम्पन्न सहसचिवस्तरीय बैठकले उक्त रुटलाई औपचारिकता प्रदान गरेको जानकारी नेपाली वार्ता टोलीका संयोजक सहसचिव शर्माले बताउनुभयो।

शर्माका अनुसार हाल सञ्चालनमा रहेका छवटा अन्तरदेशीय बससेवाका रुटमा जनकपुर–अयोध्यालाई पनि समावेश गर्ने निर्णय भएको छ। यसबाहेक हाल सञ्चालनमा रहेका रुटहरूलाई थप व्यवस्थित र सहज बनाउन विविध पक्षमाथि छलफल भएको शर्माले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु