फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको वायु सेवा निगमको वाइडबडी जहाजको भारत परीक्षण उडान

(GMT+08:00) 2018-07-24 14:32:42

नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले सोमबार परीक्षण उडान गरेको छ। निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरेको जानकारी दिनुभयो। सो उडानलाई निगमले 'पुफिङ फ्लाइट' को नाम दिएको छ।

गत असार २४ गते काठमाडौं आइपुगेको 'अन्नपूर्ण' नाम दिइएको सो जहाजलाई विदेशी चालक फ्रान्सिको र निगमका चालक श्रवण रिजालले उडाएको प्रवक्ता श्रेष्ठले बताउनुभयो। निगमले वाइडबडी ए ३३०–२२० सिरिजको जहाजमार्फत अन्तर्राष्ट्रिय उडानमा आफ्नो हिस्सा बढाउने लक्ष्य राखेको छ। अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठनको छाता संगठन (आइकाओ)ले व्यावसायिक उडान अघि परीक्षण उडान गर्नुपर्ने व्यवस्था गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिशमा नै निगमको बाइडबडी जहाजले साेमबार त्यस्तो उडान गरेको हो। निगमले उडानका लागि सबै प्रक्रिया पूरा गरेको छ। उक्त उडानमा निगमका प्राविधिक तथा अधिकारी सहभागी थिए। परीक्षण उडानमा कुनै यात्रु भने बोकिएको थिएन। परीक्षण उडान सफल भएपछि मात्रै व्यावसायिक उडान गर्ने गरी तालिका तय गरिने निगमले जनाएको छ। निगमले यही साउन १६ गते पहिलो व्यावसायिक उडान गर्नेछ। प्रवक्ता श्रेष्ठले दुबईबाटै पहिलो व्यावसायिक उडान गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो। जहाज आएको एक महिनाभित्र सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गरिएको हो। यस्तै निगमको दोस्रो वाइडबडी जहाज यही साउन ११ गते काठमाडौँ आइपुग्दै छ।

जानकारी तथा लेखहरु