फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ एक सयवटा पर्यटकीय गन्तव्य पहिचानका लागि पाँच आधार तय

(GMT+08:00) 2018-07-26 15:11:30
सरकारले नयाँ एक सय पर्यटकीय गन्तव्य पहिचानका लागि पाँच आधार तय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र सरोकारवाला निकायको छलफलमा पर्यटकीय गन्तव्य छनोटका पाँच आधार तय गरेको मन्त्रालयका सह–सचिव घनश्याम उपाध्यायले बताउनुभयो।

छलफलले पाँचवटा आधार तय गर्दै सूचना प्रकाशन गर्ने निर्णय गरेको छ। सय पर्यटकीय गन्तव्य छनोटमा सबैभन्दा प्राथमिकतामा एक सय वर्ष पुराना पुरातात्विक सम्पदा रहेको छ। यसले नेपालको संस्कृति सम्पदाको संरक्षण विश्वमा त्यसको पहिचानसमेत हुने मन्त्रालयको ठहर छ।

नेपाल विश्वमा सम्पदा नै सम्पदा भएको देश भनेर चिनिएका अवस्थामा सरकारले पुरातात्विक सम्पदाको संरक्षणमा विशेष ध्यान दिन लागेको उपाध्यायले बताउनुभयो। यसैगरी सरकारले गन्तव्य छनोटमै पाँच वर्ग किलोमिटर वा सोभन्दा बढी क्षेत्रफलमा फैलिएका ताल तलैया वा पोखरी भएको ठाउँलाई पनि समेट्ने गरी आधार तय गरेको छ।

यसैगरी, चर्चित पर्यटकीय गन्तव्य तर भौतिक पूर्वाधार र सेवासुविधाले पछाडि परेको ठाउँको पनि प्रचारप्रसार तथा गन्तव्यको छनोट हुने भएको छ। अहिले खप्तड तथा बर्दिया राष्ट्रिय निकुञ्ज चर्चित भएर पनि भौतिक पूर्वाधारको विकासले पछाडि परेको मन्त्रालयको ठहर छ। यस्तैगरी पर्यटकीयस्थलको भौतिक पूर्वाधार विकास र गुरुयोजना तयार भए पनि कार्यान्वयन हुन नसकेको आधारमा पनि पर्यटकीय गन्तव्य छनोट हुने भएको अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।

पर्यटकीय गन्तव्य छनोटसँगै सरकारले सार्वजनिक निजी क्षेत्रको साझेदारीमा (पीपीपी) मोडलमा पूर्वाधार विकास गर्ने योजना पनि अगाडि सारेको छ। साथै पर्यटकीय सर्किटको नयाँ योजनासहित गन्तव्य विकास गर्ने तयारी गरी सूचना प्रकाशनको तयारी भएको उपाध्यायले बताउनुभयो।

यसरी छनोट हुने पर्यटकीय गन्तव्यका लागि सरकारले स्थानीय तह र प्रदेश सरकारको सहयोग र सहकार्यका काम गर्ने उहाँको भनाइ छ। गन्तव्य छनोटको सूचना प्रकाशनपछि स्थानीय तह, प्रदेश सरकार तथा पर्यटन व्यवसायीले समेत गन्तव्य सिफारिसका लागि आवेदन प्रस्ताव पेस गर्न पाउनेछन्।

सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा नै सय गन्तव्यको विकासका लागि भनेर ५० करोड रुपैयाँ विनियोजन गरेको छ। निजी क्षेत्रको सहकार्यका गन्तव्य विकास गरिने मन्त्रालयले जनाएको छ। सरकारले सन् २०२० मा नेपाल भिजिट वर्ष मनाउँदै गर्दा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित यो योजना अगाडि सारेको हो। सरकारले २०२५ सम्म देशको अर्थतन्त्रको कुल हिस्सामा पर्यटनको योगदान २५ प्रतिशत पुर्यायाउने लक्ष्यसहित थप सय गन्तव्य छनोट र विकास गर्ने उद्देश्य लिएको छ। अर्थतन्त्रमा पर्यटनको हिस्सा अहिले नौ प्रतिशत हाराहारी मात्रै छ।

जानकारी तथा लेखहरु