फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सार्क राष्ट्रहरू केही खाद्य वस्तुमा एउटै गुणस्तर मापदण्ड कायम गर्न सहमत

(GMT+08:00) 2018-07-26 15:13:44

दक्षिण एसियाली सहयोग संगठन (सार्क) अन्तर्गतका सदस्य मुलुकहरू केही खाद्य वस्तुमा एउटै गुणस्तर मापदण्ड कायम गर्न सहमत भएका छन् । सहमतिअनुसार बिस्कुट, प्रशोधित चिनी र दूधजन्य वस्तुमा यो मापदण्डमा लागू हुनेछ । सार्कअन्तर्गतको विशेष संगठन साउथ एसियन रिजनल स्टयान्डर्ड अर्गनाइजेसन (सार्सो) ले तयार पारेको मापदण्डमा सदस्य मुलुकहरूबीच सहमति जुटेको हो । बिस्कुट र प्रशोधित चिनीको उत्पादन गुणस्तरसँगै प्याकेजिङ प्रशोधन, लेबलिङ र नमुना तथा दूध/दुग्धजन्य वस्तुको उत्पादन, प्रशोधन र प्रयोगका लागि समेत साझा मापदण्ड तय गरिएको छ।

अघिल्लो महिना 'सार्सो' को मुख्यालय बंगलादेशको ढाकामा बसेको प्राविधिक समितिले त्यससम्बन्धी निर्णय गरेको कान्तिपुर अनलाइनले जनाएको छ । एउटै मापदण्ड तय गर्ने विषयमा 'सार्सो' अन्तर्गतका विभिन्न समिति र बैठकमा सन् २०११ देखि नै छलफल हुँदै आएको थियो। सार्क मुलुकहरूबीच गुणस्तर मापदण्डमा एकरूपता ल्याउँदै व्यापार अभिवृद्धिका लागि साझेदारी र समन्वय गराउने उद्देश्यसहित 'सार्सो' को गठन भएको हो।

हाल सार्क मुलुकभित्र निर्यात गर्दा आयात गर्ने मुलुकले निर्यातकर्ता मुलुकले जारी गरेको गुणस्तर प्रमाणपत्रको परीक्षण गर्ने व्यवस्था छ । यसको अभावमा सार्क मुलुकहरूबीचको व्यापार सहज बन्न सकेको थिएन । पछिल्लो सहमतिपछि यी वस्तुहरूको व्यापार सहज हुने विश्वास गरिएको छ । एउटै मापदण्ड लागू भएपछि आयातकर्ता मुलुकले निर्यात गर्ने मुलुकले जारी गर्ने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिनेछन् । जसबाट सीमामा गर्नुपर्ने गुणस्तर परीक्षणलगायतका प्रक्रिया हट्ने र व्यापार अभिवृद्धिमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

सार्क मुलुकहरूले गर्ने कुल वैदेशिक व्यापारको पाँच प्रतिशत मात्र यो क्षेत्रमा हुने गरेको छ । जबकि पूर्वएसियाली मुलुकहरूबीच ३५ प्रतिशत र युरोपभित्र ६० प्रतिशत व्यापार हुने गरेको तथ्यांक छ । सार्क मुलुकहरूबीच न्यून व्यापार हुनुमा कमजोर पूर्वाधारसँगै गैरभन्सार अवरोधहरूलाई पनि जिम्मेवार ठान्ने गरिएको छ । सरकारी अधिकारीले मापदण्ड लागू भएको खण्डमा गैरभन्सार अवरोध पनि कम हुने सार्क मुलुकहरूबीच व्यापार अभिवृद्धिका लागि भरपर्दो आधार तयार गर्ने अपेक्षासमेत गरेका छन्।

पछिल्लो निर्णयले व्यापार अभिवृद्धिका अतिरिक्त वैदेशिक लगानीलाई पनि आकर्षित गर्ने विश्वाससमेत गरिएको छ । भारत र चीनको ठूलो बजार लक्षित गर्दै बिस्कुट र दुग्ध उद्योगमा वैदेशिक लगानी आउन सक्ने सम्भावना रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजु बताउनुहुन्छ। साथै निर्यातमा रहेको गैरभन्सार अवरोध पनि केही हदसम्म कम हुने उहाँको विश्वास छ ।

'सार्सो' ले सार्क मुलुकहरूबीच गुणस्तर समानीकरणका लागि जुट, टेक्स्टाइल, छाला, निर्माण सामग्री, रासायनिक उत्पादन तथा विद्युतीय सामग्रीजस्ता क्षेत्रहरू पहिचान गरेको छ । सार्क मुलुकहरूबीच कृषि तथा खाद्य वस्तुहरूको व्यापारको प्रचुर सम्भावना रहेको हुँदा सबैभन्दा पहिले तिनै वस्तुहरू गुणस्तर मापदण्ड तोकिएको 'सार्सो' ले जनाएको छ ।

जानकारी तथा लेखहरु