फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनलाई उपहार स्वरूप दिइने अर्को एकजोडी गैंडाको पनि नामाकरण

(GMT+08:00) 2018-07-27 14:27:35

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नरेन्द्र अर्यालका अनुसार सौराहामा रहेका भालेको नाम 'सोल्टी' र पोथीको नाम 'मितिनी' राखिएको छ।

यसअघि गत असार २८ गते दुई गैंडा 'भद्र' र 'रुपसी'लाई चीन पठाइसकिएको छ। चीन पठाउन बाँकी दुई 'सोल्टी' र 'मितिनी'लाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय सौराहामा पिटबुमा बनाएर राखिएको छ। सौराहामा रहेका 'सोल्टी' र 'मितिनी'लाई चीन पठाउने मिति तय नभए पनि साउनको अन्तिमसम्ममा पठाउने तयारी भइरहेको अर्यालले बताउनुभयो।

'मितिनी' नाम राखिएको पोथीलाई निकुञ्जको पश्चिम सेक्टरबाट गत वैशाखमा नियन्त्रणमा लिइएको थियो । 'सोल्टी' नाम राखिएको भालेलाई अघिल्लो वर्षको साउनमा आएको बाढीले बगाएर भारतीय सीमा नवलपरासीको त्रिवेणी पुर्याएको थियो। पछि उद्धार गरेर सौराहमा राखिएको थियो।

एकै आर्थिक वर्षमा एक जोडीभन्दा बढी गैंडा उपहार दिन नपाइने नियमानुसार गत आर्थिक वर्षमा 'रुपसी' र 'भद्र'लाई पठाइएको थियो। नयाँ आर्थिक वर्ष लागेकोले साउन या भाद्रमा थप दुई गैँडालाई पठाउनेछ। 'रुपसी' र 'भद्रलाई चीनको चिमे लङसफारीमा राखिएको छ। दुर्लभ एक सिंगे गैंडाका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात मानिन्छ। पछिल्लो गणना अनुसार नेपालमा एकसिंगे गैंडाको संख्या ६४५ छ । तीमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा छन्।

जानकारी तथा लेखहरु