फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सरकारले आउँदो ५ वर्षभित्र १७ औद्योगिक क्षेत्र बनाउने

(GMT+08:00) 2018-07-27 14:29:11

नेपाल सरकारले आउँदो ५ वर्षभित्र १७ औद्योगिक क्षेत्र बनाउने भएको छ । सातै प्रदेशमा उद्योग विकास गर्ने उद्देश्यले थप औद्योगिक क्षेत्र बनाउने तयारी सरकारले गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको नीति तथा कार्यक्रम/बजेट कार्यान्वयन कार्ययोजनाअनुसार ५ वर्षको अवधिमा प्रदेश नम्बर १ मा एउटा, प्रदेश २, ५, ६ र ७ मा ३/३ वटा, प्रदेश ३ र ४ मा २/२ वटा औद्योगिक क्षेत्र निर्माण गरिनेछ । उद्योग सचिव यामकुमारी खतिवडाका अनुसार ५ वर्षमा झापाको दमक, सर्लाहीको सागरनाथ, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोर, रूपन्देहीको मोतीपुर, दाङको लक्ष्मीपुर, बाँकेको नौबस्ता, कैलालीको लम्की र कञ्चनपुरको दैजीमा सञ्चालनमा आइसक्नेछन् । काभ्रे, गोर्खा, तनहुँ, सुर्खेत, रौतहट, कञ्चनपुर, दैलेख र धनुषामा भने निर्माण थालिने कार्ययोजनामा उल्लेख छ । हाल बालाजु, पाटन, भक्तपुर, राजविराज, हेटौंडा, पोखरा, धरान, नेपालगन्ज र सुर्खेतमा गरी १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा छन् ।

चालु आर्थिक वर्षमा विस्तृत अध्ययन प्रतिवेदन र वातावरण प्रभाव मूल्यांकन तयार गरी पूर्वाधारसम्बन्धी कार्यको सुरुआत गरिनेछ । लगानीमैत्री वातावरण सिर्जना गर्न नीति तथा ऐनको परिमार्जन, एकीकृत सेवा विस्तार गर्ने मन्त्रालयको योजना छ । ५ वर्षको अवधिमा ठूला, मझौला र विदेशी लगानीका साना उद्योग गरी ५ लाख ७४ हजार ७ सय ५० जनालाई रोजगारी दिने मन्त्रालयको दाबी रहेको इकान्तिपुर अनलाइनले जनाएको छ ।

जानकारी तथा लेखहरु