फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज नेपालमा गुरू पूजा गर्ने पर्व मनाइँदै

(GMT+08:00) 2018-07-27 14:34:39

साउन शुक्ल पूर्णिमाका दिन शुक्रवार मन्त्र तथा सीप प्रदान गर्ने गुरु र गुरुआमाप्रति श्रद्धा व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदैछ। संस्कृतमा 'गु' को अर्थ अन्धकार र 'रु' को अर्थ चिर्ने भन्ने हुन्छ । अन्धकारलाई चिरेर ज्ञानको उज्यालो प्रदान गर्ने दिनका रूपमा गुरु पूर्णिमा मनाउने गरिन्छ।

अचेल खेलकुद, सङ्गीत, चित्रकला, कलालगायत अन्य व्यावसायिक क्षेत्रमा पनि मार्गदर्शकलाई गुरु सम्झेर सम्मान गरिन्छ। 'गुरु व्रह्मा, गुरु विष्णु, गुरु देव महेश्वर गुरु साक्षात् परम्व्रह्मा तस्मै श्री गुरु वे नमः' भनेर शास्त्रमा गुरुको महिमा वर्णन गरिएको छ। सन्ध्या आरतीको मन्त्र दान गर्ने गुरुआमा र चूडाकर्ममा गायत्री मन्त्र दान गर्ने गुरुलाई तागाधारीहरूले महत्वका साथ यो दिन गुरु पूजन वा गुरु स्मृति गर्छन ।गुरुकुल परम्पराका आश्रम वा विद्याश्रममा यो दिन धार्मिक उत्सव हुने गरेको छ। वेदका प्रणेता व्यासको जन्म यसै दिन भएकाले व्यास जयन्तीका रूपमा पनि यो दिन मनाइन्छ । पशुपतिनाथका गुरु दक्षिणामूर्तिको मन्दिर वर्षमा एकपटक यसै दिन सर्वसाधारणका लागि खुला हुन्छ।

अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार पशुपतिनाथका पुजारीले गुरु दक्षिणामूर्तिको पूजा अर्चना गरेपछि यहाँ गुरु पूर्णिमाको उत्सव सुरु हुने गोरखापत्र अनलाइनले जनाएको छ।

यसैबीच साउन शुक्ल पूर्णिमाको मध्यरातमा शुक्रबार खग्रास चन्द्र ग्रहण लाग्दैछ। सूर्य र चन्द्रको वीचमा पृथ्वी सीधा रेखामा रहँदा पृथ्वीको छायाँ चन्द्रमामा पर्ने यो ग्रहण काठमाडौँमा राति १२ बजेर ९ मा सुरु भएर बिहान ४ बजेर ६ मिनेटमा समापन हुन्छ। ग्रहण ३ घण्टा ५७ मिनेटसम्म रहन्छ।

जानकारी तथा लेखहरु