फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उसुको वैदेशिक प्रशिक्षणका लागि नेपाली टोली चीनको क्वाङ्सीमा

(GMT+08:00) 2018-07-28 13:47:20

इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदअन्तर्गत उसुमा सहभागी हुने नेपाली टोली वैदेशिक प्रशिक्षणका लागि शुक्रबार चीन प्रस्थान गरेको छ। ९ खेलाडी र २ प्रशिक्षकसहित ११ सदस्यीय टोली चीनको क्वाङ्सी प्रस्थान गरेका हुन्।

करिब २० दिनको प्रशिक्षणपछि टोली साउन ३० गते चीनबाट इन्डोनेसिया जाने कार्यक्रम छ। उसुको प्रतिस्पर्धा भदौ ३ देखि ७ गतेसम्म जकार्तामा हुनेछ। १९९० मा बेइजिङमा भएको एसियाडको ११ संस्करणदेखि नेपालले उसुमा सहभागिता जनाउन लागेको थियो। त्यो क्रममा हालसम्म निरन्तरता पाइरहेको छ।

प्रतियोगितामा पुरुषतर्फ चित्रसिंह ठकुरीले ७० केजी, मंगलप्रसाद थारुले ६० केजी, पदमबहादुर ठकुल्लाले ५६ केजी, विजय सिन्जालीले छान् छ्वान तथा युवराज थापाले नान् छ्वान अलराउन्डमा प्रतिस्पर्धा गर्नेछन्।

अर्का पुरुष खेलाडी वीरमान लामा भने हाललाई टोलीमा समावेश छैनन्। उपचाररत उनी ६५ केजी तौलसमूहका लागि छनोट भएका खेलाडी हुन्।

महिलाको ५२ केजी जुनी राई, ६० केजीमा लुमन्ति श्रेष्ठ, छान् छ्वानमा सुस्मिता तामाङ र नान् छ्वान अलराउन्डमा १२ औं सागकी स्वर्णधारी निमा घर्ती मगरले प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षक शैलेन्द्र श्रेष्ठ र फत्तबहादुर लामा योञ्जन पनि टोलीसंगै चीन गएका छन्। मुख्य प्रशिक्षक अम्बरकुमार थिङ र व्यवस्थापक लाक्पा छिरिङ लामा भने पछि जाने छन्।

जानकारी तथा लेखहरु