फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत र चीनसमेत जोडिने जोगबनी–किमाथांका मार्गको निर्माण कार्य तीव्र

(GMT+08:00) 2018-07-28 13:49:18

भारत र चीनसमेत जोडिने राजमार्गको निर्माण कार्य तीव्र गतिमा भैरहेको छ। १४ किलोमिटर ट्रयाक खोल्नेबित्तिकै बहुप्रतिक्षित जोगबनी–किमाथांका मार्ग जोडिँदै छ । चट्टानी पहरा भएको क्षेत्रमा ट्रयाक खोल्न बाँकी रहेकाले सडकले सोझै चीनको सीमा छुन भने केही महिना लाग्नेछ।

संघीय सरकारले छिमेकी मुलुक भारत र चीनसमेत जोडिने यो सडकको मुख्य काम यसै आर्थिक वर्ष भित्र सक्ने घोषणा गरिसकेको छ । स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकार र संघीय सरकारले पनि उच्च महत्त्व दिएको यो सडक बनेपछि आर्थिक गतिविधि तीव्र रूपमा बढ्ने कान्तिपुर दैनिकले लेखेको छ।

प्रदेश १ को मात्र होइन, मुलुककै समृद्धिमा महत्त्वपूर्ण मानिएको योजना हो, रानी–किमाथांका मार्ग । त्रिदेशीय व्यापारिक महत्त्वको यो सडक मोरङको रानीदेखि संखुवासभाको किमाथांकासम्म पुग्छ । दक्षिणी नाकालाई उत्तरी नाकासँग जोड्न करिब ३ सय ४० किलोमिटर सडकमध्ये अब १४ किलोमिटर ट्रयाक खोल्न मात्र बाँकी छ।

मोरङबाट सुनसरी, धनकुटा र तेह्रथुम हुँदै संखुवासभाको सीमावर्ती गाउँसम्म सडक पुर्‍याउने लक्ष्य छ । संखुवासभा सदरमुकाम खाँदबारीसम्म कालोपत्रे भइसकेको छ । बीचका केही स्थानमा सडक बिग्रिए पनि त्यसलाई व्यवस्थित पार्ने काम भइरहेको छ । अरुण नदीको किनारैकिनार चीनको तिब्बती सहर रियुमा जोडिने उत्तर–दक्षिण मार्ग बनिसकेपछि चीन र भारतको व्यापारिक 'ट्रान्जिट' बन्नेछ नेपाल।

सडक निर्माणले नेपालको व्यापार विस्तार मात्र हुनेछैन, उत्तर तथा दक्षिण सीमाबाट चीन र भारतका प्रमुख व्यापारिक सहर पनि छोटो दूरीबाट जोडिनेछन् । किमाथांकाबाट तिब्बती सहर ल्हासा र ठूलो व्यापारिक सहर सिगात्से पनि छोटो दूरीमा पर्ने भएकाले व्यापार विस्तारमा ठूलो सहयोग पुग्ने उद्योगीले बताउँदै आएका छन् । किमाथांका नाकाबाट चीनको व्यापारिक सहर सिगात्से करिब ३ सय किलोमिटर दूरीमा छ।

किमाथांका सडकका कारण नेपालबाहेक अरू चार मुलुकसमेत प्रत्यक्ष–अप्रत्यक्ष जोडिन सक्नेछन् । अर्थशास्त्री प्राडा पीके झा किमाथांका सडक बनेपछि विराटनगर चीन, भारत, भुटान र बंगलादेशबीच जोडिन सक्ने सम्भावना औंल्याउँछन् ।

यो मार्गको दक्षिणी सीमा विराटनगरबाट भारतको कोलकाता नजिक पर्ने भएकाले पनि व्यापारिक महत्त्व बढ्नेछ । किमाथांका सडक निर्माणमा जोड दिँदै आएका उद्योगी–व्यवसायीले हालै त्यस क्षेत्रको अवलोकन भ्रमण गरे । उद्योग संगठनको अगुवाइमा गएको टोलीले निर्माणमा संलग्न प्रतिनिधि र स्थानीय जनप्रतिनिधिलगायतसँग भेटेर सडकको अवस्थाबारे जानकारी लिएका छन्।

उक्त नाकाबाट ठूला उद्योका लागि कच्चापदार्थ ल्याउन सकिने र जडीबुटीलगायत स्थानीय वस्तु निर्यात गर्न सकिनेछ । दुई धनी र विकसित मुलुक यो सडकमार्गबाट जोडिने भएकाले नेपालले पनि यसबाट फाइदा लिन सक्ने धेरै सम्भावना छ । संघीय सरकारले यो योजनालाई प्राथमिकतामा राख्दै आएको छ ।

जानकारी तथा लेखहरु