|
|
|
||
चीन र नेपालका गैरसरकारी संस्थाबीच सहकार्यका लागि सम्झौता सम्पन्न भएको छ। शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, स्वरोजगार, सीपमा आधारित तालिम, सामुदायिक विकास लगायत क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित चीनका ३२ वटा एनजीओले नेपालको समाज कल्याण परिषदसँग सम्झौता गरेको नागरिक न्युज अनलाइनले लेखेको छ।
हिजो आइतबार समाज कल्याण परिषद् र चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सचेञ्जबीच (सिएनआई)बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा र चीनका उप मन्त्री वाङ याचुनको उपस्थितिमा समाज कल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्ट र (सिएनआई)का सदस्य सचिव चु रुईले तीन वर्षे समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो।
हस्ताक्षर समारोहमा बोल्दै चिनियाँ उपमन्त्री वाङ याचुनले चिनियाँ एनजीओको प्रवेशले समृद्ध नेपाल सुखी नेपाली अभियानमा सहयोग पुग्ने धारणा राख्नुभयो। जनताबीचको आदानप्रदान दुई देशको सम्बन्धका लागि महत्वपूर्ण भन्दै उहाँले मैत्रीपूर्ण आदानप्रदानले विकासलाई अघि बढाउने बताउनुभयो। 'दुई दिनपछि चीन र नेपालको दौत्य सम्बन्ध स्थापनाको ६३ औं वर्ष पुग्न लागेको अवसरमा यो कार्यक्रम पनि महत्वपूर्ण छ', उहाँले भन्नुभयो।
उहाँले युवा, महिला बालबालिका तथा जनस्तरमा शिक्षा, स्वास्थ्य, रोजगारी लगायत सबै क्षेत्रमा सहकार्य गर्ने बताउँदै एनजीओमा ५० लाख डलरको लगानी भएको बताउनुभयो। भर्खरै नेपालका प्रधानमन्त्रीले चीन भ्रमण गरेर मित्रता बलियो बनाएको भन्दै उहाँले द्विपक्षीय सहयोगले जनस्तरमा सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त ग्नुभयो।
महिला तथा बालबालिका मन्त्री थममाया थापाले नेपालका विकास निर्माण र परिवर्तनका लागि सहयोगमार्फत चीनले देखाएको आत्मियताले सम्बन्ध अझै प्रगाढ बनाउन सकारात्मक सन्देश दिएको धारणा राख्नुभयो। 'दुई देशका एनजीओबीच पहिलोपटक भएको समझदारी सकारात्मक सुरुवात हो', उहाँले भन्नुभयो, 'सम्झौता कार्यान्वयनमा सरकार प्रतिबद्ध छ।'
यो सम्झौताले सरकार मात्र होइन जनताको बीचमा एकआपसमा विश्वासको सम्बन्ध कायम गर्न एनजीओ र आइएनजीओले भुमिका खेल्ने उहाँको भनाइ छ। 'दुई देशको जनताको बीचमा फराकिलो ढंगले सम्बन्ध विस्तार हुनेछ', उहाँले भन्नुभयो।
एनजीओको स्वास्थ्य, शिक्षा, स्वरोजगार कार्यक्रमबाट नेपालीको जीवनस्तरमा मद्दत पुग्ने बताउँदै मन्त्री थापाले देशलाई समृद्ध बनाउने अभियानमा सघाउने पुग्ने विश्वास गर्नुभयो। उहाँले चिनियाँ एनजीओसँग सहकार्य गरेर अघि बढ्ने विश्वास समेत दिलाउनुभयो। 'जनताबीको सम्बन्ध अझै गाढा बनोस', उहाँले भन्नुभयो।
समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बरालले चिनियाँ एनजीओ नेपालको स्वास्थ्य, शिक्षा, विपद लगायत क्षेत्रमा काम गर्नेगरी आएको जानकारी दिनुभयो। यसमा नेपाली एनजीओले सहकार्य गर्ने बताउनुभयो। 'समाज कल्याण परिषदले विभिन्न देशका दातृ निकायसँग सहकार्य गर्दै आएको छ। अब यसमा चीन पनि थपिएको छ', उहाँले भन्नुभयो, 'चिनियाँ एनजीओको आगमनले नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा मद्दत पुगाउनेछ।' उहाँका अनुसार परिषदले दातृ निकायबाट वार्षिक ५२ अर्ब बढी रकम भित्र्याउने गरेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |