फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालगन्जलाई महानगर बनाउने प्रक्रिया सुरु

(GMT+08:00) 2018-07-30 16:37:49

नेपालगन्जलाई महानगर बनाउने अवधारणा कार्यान्वयनका लागि औपचारिक प्रक्रिया अगाडि बढाइएको छ। नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठकले नेपालगन्ज–कोहलपुर–खजुरालाई एकीकृत गरी महानगर बनाउन औपचारिक प्रक्रिया अगाडि बढाएको कारोबार अनलाइनल लेखेको छ। "त्यसका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गरिने भएको छ", नेपालगन्जका उपमहानगरका प्रमुख डा. धवलशमशेर राणाले त्यसका लागि नगरसभाले पनि बाटो खोलिसकेको जानकारी दिँदै भन्नुभयो, "महानगरका लागि औपचारिक प्रक्रिया अगाडि बढाइएको छ।"


नगर प्रमुख डा. राणाका अनुसार, डिपिआरका लागि २५ लाख रूपैयाँ पनि छुट्याउने निर्णय भएको छ। "नेपालगन्ज आसपासका सबै स्थानीय तहसँग समन्वय गरी कुन–कुन भूगोललाई महानगरपालिकाभित्र गाभ्ने भन्ने स्थलगत अध्ययन गर्न कन्सल्टेन्ट हायर गरिनेछ", उपमहानगरकी उपप्रमुख उमा थापामगरले भन्नुभयो, "यसैसाता कन्सल्टेन्ट हायर प्रक्रिया सुरु गर्ने सहमति बनेको छ।"
उपमहानगरपालिकाले यसअघि एलजीसिडिपीका नाममा रहेको २५ लाख रूपैयाँलाई रकमान्तर गरी महानगरका लागि काम अगाडि बढाउने भएको हो। प्रदेश ५ मा तीन वटा महानगरको परिकल्पना गरिएकोमा कार्यान्वयनका लागि औपचारिक प्रक्रिया अगाडि बढाउने नेपालगन्ज पहिलो हो।


प्रदेश सरकारले नेपालगन्ज–कोहलपुर, दाङ्गको घोराही–तुल्सीपुर र रूपन्देहीको बुटवल–भैरहवा एकीकरण गरी तीन वटा महानगर परिकल्पना गरेको छ। "ग्रेटर नेपालगन्जको अवधारणा निकै पहिले हामीले गरिसकेकाले पनि यो काममा हाम्रो अग्रसरता स्वभाविक हो," डा. राणाले भन्नुभयो। नेपालगन्ज, कोहलपुर र खजुराका प्रमुखहरूले महानगरको सम्भावनालाई स्वागत गर्दै पहल थाल्न सहमति जनाइसकेका छन्। कोहलपुर र खजुराले महानगरका लागि नेपालगन्जले अग्रसरता लिनुपर्ने धारणा सार्वजनिक गरे लगत्तै डिपिआरलाई एजेन्डाका रूपमा अगाडी बढाइएको हो।

जानकारी तथा लेखहरु