फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीब्र गतिमा हुँदै कालीगण्डकी करिडोर प्रशारणलाइन निर्माण कार्य

(GMT+08:00) 2018-07-31 16:08:13

कालीगण्डकी करीडोर प्रशारणलाइन निर्माणले तीव्रता पाएको छ। करीडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारणलाइन र सवस्टेशन निर्माण तीव्र रूपमा भइरहेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

म्याग्दी र मुस्ताङमा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोड्न कालीगण्डकी करीडोर प्रशारणलाइन निर्माण सुरु गरिएको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत्को सवस्टेशन निर्माण भइरहेको छ। उक्त आयोजनाको प्रशारणलाइनका लागि टावर पनि धमाधम निर्माण समेत धमाधम भइरहेको छ।

दाना-खुर्कोटसम्म ११४ टावर निर्माण गर्नुपर्नेमा हालसम्म ३५ वटा निर्माण पूरा भएका छन्। अन्य टावर निर्माण भइरहेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो। 'समयमै आयोजनाको काम सक्न प्रयासरत छौं,' उहाँले भन्नुभयो। सवस्टेशनको पूर्वाधार निर्माणलाई तीव्र पारिएको उनले बताए।

नेपाल विद्युत् प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करीडोर प्रशारणलाइन आयोजनाअन्तर्गत सन् २०१६ देखि म्याग्दीको दानाबाट पर्वतको खुर्कोट जोड्ने प्रशारणलाइन र सवस्टेशन बनाउन सुरु गरेको हो।

दुई अर्ब ९० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेका टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीले सवस्टेशनको पूर्वाधार, प्रशारणलाइनको टावर निर्माणसँगै उपकरण खरिदलाई अघि बढाएका छन्।

सन् २०१८ को नोभेम्बरमा पूरा गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको आयोजनाका प्राविधिक सहायक प्रबन्धक लक्ष्मण फुँयालले बताउनुभयो। उक्त आयोजनाको हालसम्म ६२ प्रतिशत काम सकिएको छ।

कालीगण्डकी करीडोर प्रशारणलाइनअन्तर्गत विद्युत् प्राधिकरणले पहिलो चरणमा दाना-खुर्कोटमा सवस्टेशन र प्रशारणलाइन निर्माण अघि बढाएको छ भने खुर्कोटदेखि नवलपरासीको बर्दघाटसम्म दोस्रो चरणमा प्रशारणलाइनको पूर्वाधार बनाउने तयारी गरिरहेको छ।

यहाँ उत्पादन हुने विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोड्न पूर्वाधार निर्माणले गति लिएसँगै म्याग्दीमा निर्माणाधीन जलविद्युत् आयोजनाले समेत पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। आयोजनाले प्रशारणलाइनको टावर रहने जग्गा अधिग्रहणका लागि ४ करोड ५० लाख रुपैयाँभन्दा बढी मुआब्जा वितरण गरिसकेको छ। टावरका लागि ९३ रोपनी जग्गा अधिग्रहण गरिनेछ।

कालीगण्डकी करीडोर राष्ट्रिय प्रशारणलाइनमार्फत् म्याग्दी र मुस्ताङमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् अयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रशारणमा जोडिनेछ। उक्त प्रशारणलाइनअन्तर्गत १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन सुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला तथा १०० मेगावाटको निलगिरि र निलगिरि क्यास्केट हाल निर्माणाधीन अवस्थामा छन्।

त्यस्तै रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण सुरु गरेको छ भने अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, ६२ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि क्यास्केट लगायतका आयोजनाले काम सुरु गर्ने तयारी गरेका छन्।

जानकारी तथा लेखहरु