फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली सेनाले एक अर्ब रुपैयाँको अमेरिकी राइफल किन्ने

(GMT+08:00) 2018-07-31 16:09:10

नेपाली सेनाले यस बर्ष करिब १ अर्ब रुपियाँ बराबरको अमेरिकी हतियार खरिद गर्ने भएको छ। संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत खटिने नेपाली सेनाका लागि सेनाले अमेरिकामा निर्मित एम-१६ राइफल किन्न लागेको नेपाल खबर अनलाइनले लेखेको छ।

स्रोतका अनुसार, जीटुजी प्रक्रिया अन्तर्गत चौथो भर्सनको अमेरिकी राइफल (एम-१६ ए४) खरिद गर्न लागेको हो। यस बर्ष करिब ४ हजार ५ सय थान राइफल खरिद गर्ने प्रक्रियामा रहेको उच्च सैनिक स्रोतले बतायो।

आर्थिक अनियमितता नहोस् भनेर पछिल्लो समय नेपाली सेनाले जीटुजी प्रक्रिया अन्तर्गत हतियार खरिद गर्दै आएको छ। दुई देशका सरकारमार्फत् खरिद हुने प्रक्रियालाई जीटुजी प्रक्रिया भन्ने गरिन्छ। यस प्रक्रिया अन्तर्गत सेनाले आफूलाई उपयुक्त हतियारको सिफारिस गर्छ र दुई देशका सरकारले सम्झौता गरेर हतियार खरिद गर्ने गर्छन्। यसका लागि कम्तिमा तीन देशबाट बोलपत्र आव्हान गरिन्छ, अन्यमा जस्तो खुल्ला प्रतिस्पर्धा गरिँदैन।

शान्ति सेनामा खटिने सैनिकका लागि साढे ४ हजार थान ५.५६ क्यालिबरको एम १६ राइफलका अलावा सेनाको विशेष फौजका लागि इजरायली वा जर्मन हतियार खरिद गर्ने योजनापनि जंगी अड्डाको छ।

'अघिल्लो बर्षको बजेटबाट हतियार खरिदको प्रक्रिया गत पुषमा नै सुरु भएको थियो, त्यो अहिले निष्कर्षतिर पुगेको छ' जंगी अड्डा स्रोतले भन्यो, 'हतियार खरिद सम्झौतामा दुबै देशका राजदूतहरु साक्षी बसेर जीटुजी सम्झौता हुनेछ।'

शान्ति सेनामा खटिने सैनिकका लागि नेपाली सेनाले ५०' (बिसं) को दशकदेखि नै अमेरिकी एम १६ राइफल खरिद गर्दै आएको छ। सो राइफलको पहिलो भर्सन (एम-१६ ए१) देखि नै खरिद गरेको नेपाली सेनासँग यो राइफलको चौंथो भर्सन (एम-१६ ए४) पनि छ।

अमेरिका निर्मित एम-१६ राइफल रुसमा निर्मित एक-४७ जस्तै कामयावी मानिन्छ। संयुक्त राष्ट्रसंघले ५.५६ क्यालिबर (गोलाई) का गोली प्रयोग हुने हतियार प्रयोग गर्ने भएकाले नेपाली सेनाको छनोटमा एम १६ पर्दै आएको छ।

जानकारी तथा लेखहरु