फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चमेराका तीन नयाँ प्रजातिको अभिलेखन

(GMT+08:00) 2018-08-01 16:23:43

काठमाडौँ उपत्यकामा पछिल्लो समयमा गरिएको अध्ययनले चमेराका तीन नयाँ प्रजातिको अभिलेखन भएको छ। यो सँगै नेपालमा पाइने चमेराका प्रजातिको संख्या ५५ पुगेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

साना स्तनधारी प्राणी संरक्षण अनुसन्धान फाउण्डेशनले सन् २०१६ अगष्टदेखि २०१८ को अप्रिलसम्म उपत्यकाका १९ स्थानमा चमेराको आधारभूत अध्ययन गरेको थियो। विश्वमा एक हजार २०० प्रजातिका चमेरा पाइन्छन्। अध्ययनबाट नेपालको लागि नयाँ तीनवटा प्रजातिहरु साइनोप्टेरस् ब्रेकायोटिस्, मायोटिस् फ्रेटर् र निक्टालस् एभिएटर् प्रजातिका चमेराको अभिलेखन गरिएको फाउण्डेशनका निर्देशक सञ्जन थापाले जानकारी दिनुभयो। उक्त अध्ययनअनुसार नेपालमा पाइने चमेराका प्रजातिमध्ये केही लोपोन्मुख अवस्थामा रहेका देखिन्छन्।

पछिल्लो समयमा चमेराको वासस्थान नष्ट हुँदै जानु, शहरमा घर तथा पूर्वाधार निर्माणले जमीन ढाकिँदै जानु, खेती प्रणालीमा परिवर्तन, विषादीको बढ्दो प्रयोग, मानवबस्तीमा रुख मासिनु र शहरमा बढ्दो प्रदूषणलगायतका कारण चमेराको संख्यामा कमी आएको हुनसक्ने फाउण्डेशनका निर्देशक थापाले बताउनुभयो।

चमेराको महत्वबारेमा आवश्यक जानकारी नहुँदा यसको संरक्षणमा चासो बढ्न सकेको देखिदैन। नीतिगत तहमा चेतनाको कमीले चमेराको संरक्षणमा सरोकारवाला निकायले आवश्यक ध्यान दिन सकेको छैन्।

चमेराले वनस्पतिमा परागशेचन तथा बीऊ ओसारपसार, हानिकारक तथा खेतबारी नष्ट गर्ने कीरा, लामखुट्टेलाई खाएर मानव जीवनलाई सहयोग गर्छ। फाउण्डेसनले अध्ययन र सम्बन्धित निकायसँगको अन्तक्र्रियापछि पञ्चवर्षीय (सन् २०१८–२०२३) कार्ययोजना तयार गरेको छ। उक्त कार्ययोजना सरकारी निकायलाई बुझाउने तयारी गरेको निर्देशक थापाले बताउनुभयो।

चमेरा नेपालका स्तानधारी प्राणीमध्ये सबैभन्दा धेरै प्रजाति भएको प्राणी भएकाले पारिस्थितिकीय प्रणालीमा यसको ठूलो महत्व रहेको जूलोजिकल सोसाइटी अफ लण्डन नेपालका प्रतिनिधि तथा चराविद् डा हेमसागर बरालले बताउनुभयो।

चमेरा राति उड्ने प्राणी भएकाले यसको अध्ययनमा चुनौती रहेको चराविद् डा बरालको भनाइ छ। चमेरा मुलुकका हिमाल, पहाड र तराई सबै क्षेत्रका जंगल, घर, रुख र गुफालगायतमा पाइन्छ।

चमेरा संरक्षणलाई नै केन्द्रित गरेर सरकारीस्तरबाट अध्ययन तथा अन्य कार्यक्रम भएको देखिदैन्। यद्यपि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सन् २०११ मा प्रकाशन गरेको रेड डाटा बुकमा भने चमेराका बारेमा केही विषय उल्लेख गरिएको जनाएको छ।

जानकारी तथा लेखहरु