फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

६ खर्बमा ६ हजार ८ सय किलोमिटर प्रसारणलाइनमा लगानी हुने

(GMT+08:00) 2018-08-01 16:24:07

नेपाल सरकारले सन् २०४० भित्र ६ खर्ब ३७ करोड रुपैयाँ लागतमा ६ हजार ८ सय ३७ किलोमिटर बनाउने महत्वकांक्षी गुरुयोजना अघि सारेको छ। राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले तयार पारेको नेपालको प्रसारण प्रणाली विकासबारेको गुरुयोजनामा ५ क्षेत्र बनाएर १ सय ११ प्रसारण लाइन आयोजना अघि बढाउने गरी गुरुयोजना अघि सारेको कारोबार अनलाइनले लेखेको छ।

प्रसारणलाइनको अभावमा वर्षामा विद्युत् खेर जाने भन्दै चिन्ता प्रकट भइरहेको बेला ठूला प्रसारण लाइनको योजनासहित गुरुयोजना सार्वजनिक गरिएको छ। सन् २०४० सम्ममा ७.२ प्रतिशतको आर्थिक वृद्धिदरलाई आधार मानेर आवश्यक पर्ने ४० हजार मेगावाट विद्युत्लाई लक्षित गरी गुरुयोजना निर्माण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र ज्ञवालीले जानकारी दिनुभयो। "प्राविधिक रूपमा भन्नुपर्दा ४० हजार मेगावाट विद्युतका लागि आवश्यक प्रसारण लाइनको लागि आवश्यक ४०० केभी, २२० केभी र १३२ केभी गरी ६ हजार ८ सय किलोमिटर लाइन निर्माण गर्ने र यसका लागि ६ खर्ब बराबरको लागत आवश्यक देखिएको छ," उहाँले भन्नुभयो, "सरकारी, निजीक्षेत्रका साथै दातृ निकाय र विभिन्न वित्तिय निकायसँग ऋण लगानी जुटाएर लाग्ने गरी गुरुयोजनामा तयार भएको छ।" गुरुयोजनामा ४ सय केभीका ३ हजार १ सय ९२ किलोमिटर, २ सय २० केभीका १ हजार १ सय ६० किलोमिटर र १ सय ३२ केभीका २ हजार ५ सय १५ किलोमिटर प्रसारणलाइन बनाउने उल्लेख छ। जसका लागि ३ खर्ब ७६ अर्ब ७९ करोड लागत आवश्यक रहेको उल्लेख छ। त्यसैगरी ४ सय केभीको ४० सवस्टेशन, २२० केभीको १९ सवस्टेसन र १३२ केभीको १४ सवस्टेशन निर्माण गर्ने र यसका लागि २ खर्ब २६ अर्ब ९७ करोड लगानी आवश्यक रहेको गुरुयोजनामा उल्लेख छ।

प्राधिकरणका अनुसार, हाल ७८ सर्किट किलोमिटरको ४०० केभीको एक प्रसारण लाइन, ७५ सर्किट किलोमिटर २२० केभीको १ वटा, २ हजार ८ सय १९ सर्किट किलोमिटरको १३२ केभीको ३० वटा प्रसारण लाइन, ४ सय ९४ किलोमिटरका ६६ केभीका १५ प्रसारण लाइन तथा १ हजार ९ सय ९६ एमभीएका १३२-३३ का १८ सवस्टेशन र ६ सय २१ एमभीएको ६६ केभीका ७ वटा सवस्टेशन निर्माण सम्पन्न भैसकेका छन्। त्यसैगरी १ हजार ३ सय ५७ सर्किट किलोमिटरको २२० केभीका ८, १ हजार १ सय ८ सर्किट किलोमिटर बराबरको १३२ केभीका १५ प्रसारण लाइन तथा ५ सय ३३ एमभीए बराबरका १३२-३३ केभीका ७ र २३० एमभीए बराबरका २२०-१३२ केभीका एक सवस्टेशन निर्माणाधीन छ। प्रसारण लाइन निर्माण सुरु भएको १ सय ७ बर्षमा ३ हजार ४ सय ६६ किलोमिटर प्रसारण लाइन र २ हजार ६ सय १५ एमभीएका सवस्टेशन निर्माण गरेकोमा आगामी २२ बर्षभित्रनै ६ हजार ८ सयभन्दा बढीको प्रसारण लाइन बनाउने योजना अघि सारिएको छ।

यस अघि सन् २०१५ मा नेपाल विद्युत् प्राधिकरणले भने सन् २०३५ सम्मका लागि विद्युत् प्राधिकरणले गुरुयोजना बनाएको थियो। ग्रीड कम्पनीका अनुसार, महाकाली, पश्चिमसेती र कर्णाली कोरिडोरको रूपमा क्षेत्र नं. १ मा १ हजार १ सय ६२ किलोमिटर बराबरका १७ प्रसारण लाइन र योजना, भेरी कोरिडोर र आसपासको क्षेत्र नं. २ मा ८ सय ५९ कलिोमिटर बारबरका १७ प्रसारण लाइन तथा कालीगण्डकी, मस्याङदी र आसपासका कोरिडोर रहेको क्षेत्र–३ मा १ हजार ८ सय ७९ किलोमिटर बराबरका ४१ प्रसारण लाइन निर्माणको प्रस्ताव गुरुयोजनामा देखिएको छ। त्यसैगरी बुढीगण्डकी, त्रिशुली, तामाकोशी र आसपासका कोरिडोरको रूपमा रहेको क्षेत्र–४ मा १ हजार ४ सय १४ किलोमिटर बराबरका ३८ र दुधकोशी, तमोर-अरुण कोरिडोर र आसपासका क्षेत्र–५ मा १ हजार ५ सय ४७ किलोमिटर बराबरका ३६ प्रसारण लाइन आयोजना निर्माण गर्ने लक्ष्य गुरुयोजनामा छ।

जानकारी तथा लेखहरु