फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिरोका कारण नेपाल र चीनबीचको मुख्य व्यापारिक नाकाको रसुवागढी भन्सार ठप्प

(GMT+08:00) 2018-08-02 16:33:20

गत बुधबार राति टिमुरेमा गएको पहिरोपछि नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका रसुवागढी भन्सारबाट आयात निर्यात ठप्प भएको छ। पहिरोले अवरुद्ध सडक स्थानीय प्रशासनले पन्छाए पनि टिमुरे गाउँमाथिको घट्टेखोलामा निर्मित पुल जोखिमपूर्ण भएपछि सवारी साधन आवत जावत ठप्प भएको गोरखापत्र अनलाइनले लेखेको छ।

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीकाअनुसार टिमुरे रसुवागढी, घट्टेखोला राजमार्गको घट्टेखोलामा रहेको पक्की पुलको केही अंश बाढीले बगाएपछि पूलको जोखिम बढेको छ। प्राविधिकहरुको परामर्शमा जोखिम न्यूनीकरण गर्न मालबाहक ठूला सवारी साधन सो पुलबाट आवात जावतमा रोक लगाइएको छ। सो पुलबाट हल्का सवारी साधनमात्र सुचारु छन्।

ठूला मालबाहक सवारी साधन नचल्दा दैनिक एक करोड रुपैयाँ बरावरको राजश्वमा घाटा लागेको भन्सार कार्यालयले जनाएको छ। नेपाल–चीनको उत्तरी नाकाबाट सामान आयात निर्यात गर्ने पुल जोखिम भएपछि केरुङतर्फ गएका सयौँ ट्रक कन्टेनर केरुङमा अलपत्र परेका छन्। चर्को पार्किङ शुल्कले व्यवसायीलाई मर्का परेको कन्टेनर संघले जनाएको छ।

दायाँ बायाँबाट वैकल्पिक सडक खोल्ने स्थानसमेत नभएको प्रहरीले जनाएको छ। त्यस्तै बुधबार गएको पहिरोले अवरुद्ध टिमुरे नजिकको राजमार्ग भने बुधबारबाट सञ्चालनमा आएको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ।

त्यसैगरी पहिरोमा परी मृत्यु हुनेको दाहसंस्कारका लागि नौजनाको शव आफन्तजनलाई हस्तान्तरण गर्ने काम भएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले बताउनुभयो। दशैंको सामान लिन ब्यापारीहरु चीन गएकोले केही दिनमा पुल बन्ने र त्यसको असर नदेखिने रसुवागढी भन्सार प्रमुख अधिकृत विष्णु कोइरालाले बताउनुभयो।

स्याफ्रु रसुवागढी खण्डको सडक भीरको फेदमा रहेको र समय समयमा वर्षातमा ढुङ्गा खस्ने समस्या आउन थालेकाले टिमुरे गाउँदेखि तल पनि वर्षातमा जोखिम देखिएको ब्यापारीहरु बताउँछन्। ठाडोखोलामा भेलआएर कमजोर पक्की पुलको जगमा क्षति पुर्‍याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलकाअनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा अध्ययन कार्य शुरु गरिएको छ। एक सातादेखि बढेको वर्षाले घट्टेखोलामा पानीको बहाव बढेपछि दक्षिणतर्फको पुलको जगमा क्षति पुर्‍याएको स्थानीयवासी सूर्य घलेले बताउनुभयो।

चीन सरकारद्वारा निर्माण गरिएको उक्त पुल क्षतिको स्थानमा सडक विभागका प्रतिनिधिले जगको गहिराइ कति छ चिनियाँ प्राविधिकसँग पनि समन्वय गरी पाँच दिनभित्र गल्छी रसुवागढी राजमार्गको सिधा यातायात सञ्चालन गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो।

जानकारी तथा लेखहरु