फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नीति परिमार्जन नहुँदा चियामा समस्या

(GMT+08:00) 2018-08-02 16:34:03

नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा माग उच्च भए पनि आन्तरिक समस्याले गर्दा निर्यात हुन सकेको छैन। चिया उद्योगी, साना किसान, मजदुर र व्यवसायीका आ–आफ्नै समस्याका कारण नेपालमा मागअनुसार चिया उत्पादन हुन नसकेको सरोकारवालाले बताएको कारोबार अनलाइनले लेखेको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले हिजो बुधबार काठमाडौँमा आयोजना गरेको टि टास्क फोर्स समितिको बैठकमा सरकारले चिया नीतिलाई समयअनुसार परिमार्जन गर्न नसक्दा समस्या आएको उनीहरुले बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका सहसंयोजक हेमराज ढकालले चियामा सवै क्षेत्रका आ–आफ्ना समस्या रहेको बताउनुभयो। "नेपाली चियामा मजदुर, कृषक, उद्योगी र उत्पादनको गुणस्तरको समस्या छ," उहाँले भन्नुभयो, "चिया खेती गर्नेका लागि मल र बिषादीको समस्या रहेको छ, यी सबै वस्तु विदेशबाट आयात गर्नुपर्ने भएकाले बेला–बेलामा समस्या र अभाव देखिने गरेको छ।" चियामा सबैभन्दा ठूलो समस्या भनेको समयमा सरकारले नीतिगत व्यवस्था गर्न नसक्नु नै हो। चियामा समस्या हुँदाहुँदै पनि प्रदेश नम्बर १ मा चियाको उत्पादन ९८ प्रतिशत हुने भएकाले चिया पकेट प्रदेशको रूपमा घोषणा गरी सोही अनुसारको सुविधा दिनुपर्ने व्यवसायीको भनाइ छ। नेपालमा चियालाई व्यावसायिक रूपमा देशभर नै विस्तार गर्नुपर्छ भनेर २०५७ सालमा राष्ट्रिय चिया नीति बनेको थियो। त्यो नीतिमा धेरै पक्ष राम्रा भए पनि समयअनुसार परिमार्जन गर्न नसक्दा समस्या आएको सरोकारवालाको एक मत छ।

चिया व्यवसायी संघ झापाका अध्यक्ष पूर्णकुमार कार्कीले पैसा र सत्ताका भरमा साना किसानको हरियो पत्ती र मजदुरको ज्यालामा शोषण तथा ठगी गर्ने कारणले चियामा समस्या देखिएको बताउनुभयो। "चिया उत्पादनका बिषयमा राज्यको भूमिका के भन्ने बिषयमा नीति नियममा नदेखिएकाले खेल खेल्ने खेलाडीले विभिन्न खेल खेलेका कारण नेपाली चियामा समस्या आएको हो," अध्यक्ष कार्कीले भन्नुभयो, "सरकारले चिया नीति बनाएर प्रभावकारी रुपमा कार्यान्वयन गरे चिया पूर्वी नेपालको गौरवको विषय बनाउन सरकारले उद्योगी, किसान र मजदुर पक्षको सहअस्तित्व र सहसम्मान कायम रहने गरी वैज्ञानिक चिया नीति बनाउनुपर्छ।" उहाँले चियामा समस्या भए पनि झापामा मात्र उत्पादन हुने सिटीसी चियाको अन्तर्राष्ट्रिय बजार राम्रो रहेको बताउनुभयो। नेपाल चिया श्रमिक संघका अध्यक्ष दीपक तामाङले सेवा गरेअनुसार श्रमिकले खुला दिलले काम गर्ने वातारण नभएको बताउनुभयो। "चिया उत्पादन पनि राम्रो नभएको र श्रमिकले पनि मन लगाएर काम गर्न सकेको अवस्था छैन," उहाँले भन्नुभयो "किसानले चिया पत्तीको मूल्य नपाएको अवस्था रहेको छ।"

टि टास्क फोर्स आईएलओको सक्रियातामा गठन भएको एफएनसीसीआई, चिया उद्योगी, श्रमिक, साना ठूला व्यवसायी, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड सदस्यलगायतका ११ वटा संस्था र संगठन सदस्य भएको समिति हो। आईएलओले नेपालको चिया उत्पादनलाई मर्यादित, गुणस्तरीय र बजार प्रवद्र्धन गर्न सहयोग र सहकार्य गर्दै आएको छ।

जानकारी तथा लेखहरु