फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मुलुकमा चीन सबैभन्दा अगाडि

(GMT+08:00) 2018-08-03 16:08:34

छिमेकी मुलुक चीनबाट नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अरु देशको तुलनामा बढी छ। गत आर्थिक वर्ष (२०७४-७५) र अघिल्लो आर्थिक वर्ष (२०७३-७४)मा नेपालमा कुल ५७ वटा देशबाट लगानीको प्रतिबद्धता आएकोमा चीनको मात्रै ५५ अर्ब रुपैयाँभन्दा धेरै छ। नेपालमा दक्षिणी छिमेकी भारतसहित अमेरिका, बेलायत, अस्ट्रेलिया, ब्राजिल बेल्जियमलगायतका देशबाट लगानीको लागि प्रतिबद्धता आएको उद्योग विभागले जनाएको कारोबार अनलाइनले लेखेको छ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा चीनको मुख्यभूमिबाट ५५ अर्ब ८ करोड र चीनकै हङकङबाट ३ अर्ब लगानी प्रतिबद्धता आएको छ। यस्तै, भारतबाट ७ अर्ब ८ करोड, अमेरिकाबाट ३ अर्ब १ करोड, दक्षिण कोरियाबाट २ अर्ब ७ करोड रुपैयाँ बरावरको लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ। अन्य देशबाट पनि नेपालमा लगानीका लागि स–सानो रकमको प्रतिबद्धता आएको छ। गत दुई वर्षमा ७८ अर्ब रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। अघिल्लो वर्ष लगानीका लागि राम्रो नरहेपनि गत आर्थिक वर्षमा भने सन्तोषजनक रूपमा लगानीको प्रतिबद्धता आएको उल्लेख छ। सिमेन्ट उद्योग, होटल, रेष्टुरेन्ट, ऊर्जा, पर्यटन, साना तथा मझौला उद्योगमा चीनको लागनी बढी छ।

देशमा राजनीतिक स्थिरताको सुरुवातसँगै प्रत्यक्ष वैदेशिक लगानी बढ्न थालेको हो। यससँगै गत वर्ष हालसम्मकै सबैभन्दा धेरै प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। विभागमा आर्थिक वर्ष २०७४÷७५ मा ५५ अर्ब ६४ करोड ५६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। यो लगानी प्रतिबद्धता अघिल्लो आर्थिक वर्षभन्दा झन्डै चार गुणाले बढी हो। आव २०७३÷७४ मा १५ अर्ब २० करोडको लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ। ठूला र मध्यमस्तरका लगानी भिœयाउने लगानी बोर्ड र औद्योगिक प्रबद्र्धन बोर्डमार्फत भित्रिएको लगानीसमेत जोड्दा गत आर्थिक वर्षमा आएको लगानी हालसम्मकै धेरै हुन आउँछ।

विभागका सूचना अधिकृत दुर्गाप्रसाद भुसाल नेपाल अन्तर्राष्ट्रिय लगानी सम्मेलन २०७३ को प्रभावका साथै नीतिगत सुधार भएका कारण लगानी बढेको बताउनुहुन्छ। लगानी सम्मेलनमा सबै शीर्ष नेताले एकै आवाजमा देशमा लगानीको वातावरण बनाउने भन्दै विदेशी लगानीकर्ताहरूलाइ नेपालमा लगानी गर्न आग्रह गर्नु भएको थियो। नीतिगततर्फ पनि औद्योगिक व्यवसाय ऐन, खानी ऐन, पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन, सेज ऐन तथा नियमावली आएका छन्। नीतिगत रूपमा सुधार आएको छ भने दुईतिहाइ बहुमतहितकोसरकार गठन हुनुले पनि लगानीका लागि आशा पलाएको सूचना अधिकृत भुसाल बताउनुहुन्छ।

गत वर्षमा कुल ६१ अर्ब ७ करोड ६६ लाख लागतका ३ सय ९५ उद्योगमा ५५ अर्ब ६४ करोड ५६ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। यी उद्योगले १३ हजार नयाँ रोजगारी थप्ने प्रतिबद्धता जनाएका छन्। विभागले कृषिजन्य, निर्माण, ऊर्जा, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवा तथा पर्यटन क्षेत्रमा यो लगानीको प्रतिबद्धता स्वीकृत गरेको छ। विभागका अनुसार पर्यटनमा १५६, सेवा ११८, उत्पादनमुलक ६६, सूचना प्रविधि २६, कृषि तथा बनजन्य २०, उर्जा ६ र खानीमा ३ उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको हो।

विभागको तथ्यांकअनुसार ३९५ उद्योगका लागि आएको प्रतिबद्धतामध्ये ३७४ वटा साना उद्योग हुन्। त्यस्तै मझौला ६ र ठूला १२ वटा उद्योगका लागि प्रतिबद्धता आएको छ।

जानकारी तथा लेखहरु