फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनीले निर्माण गरिरहेको भैरहवा विमानस्थल एक वर्षभित्रै संचालनमा आउने

(GMT+08:00) 2018-08-03 16:08:55

चिनियाँ कम्पनीले निर्माण गरिरहेको भैरवहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी असारदेखि सञ्चालनमा आउने नागरिक उड्डयन प्राधिकरणले दाबी गरेको छ। पर्यटन मन्त्रालयले हिजो बिहीबार सार्वजनिक गरेको 'चालु वर्ष र ५ वर्षीय कार्यदिशा' मा यस्तो दाबी गरिएको कान्तिपुर अनलाइनले लेखेको छ।

कार्यदिशा सार्वजनिक कार्यक्रममा सहसचिव निता पोखरेलले विमानस्थलको निर्माणलाई तीव्रता दिई २०७६ असारमा निर्माण सकेर सञ्चालनमा ल्याइसक्ने बताउनुभयो। उहाँले यस वर्ष मन्त्रालयले भारतसँग हालै भएको हवाई रुट सम्झौताअनुसार जनकपुर, विराटनगर, महेन्द्रनगर हवाई मार्गलाई भने २०७५ मसान्तसम्म दुईतर्फी बनाइने बताउनुभयो।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको क्षेत्रीय र अन्तर्राष्ट्रिय सहरहरूसँगको हवाई रुटबारे कार्यदिशामा उल्लेख छैन। मन्त्रालयले पोखरामा निमार्णाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहणको काम २०७६ वैशाखसम्म सकिने जनाएको छ। त्यहाँको निर्माण कार्य अबको तीन वर्षभित्र सम्पन्न गरिसक्ने भनिएको छ।

निजगढमा निर्माणाधन अन्तर्राष्ट्रिय विमानस्थलका लागि २०७५ फागुनमा परामर्शदाता नियुक्त गरिनेछ। त्यसअघि मंसिरमा यसको मोडालिटी तयार हुने भनिएको छ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको कार्य २०७६ असारमा सक्ने भनिएको छ। विस्तारअन्तर्गत टर्मिनल भवन विस्तार, धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय एप्रोन निर्माण, समानान्तर टयाक्सी वे, धावनमार्गको पुन:स्थापना कार्य आदि राखिएका छन्। मन्त्रालयले विराटनगर, जनकपुर, धनगढी र नेपालगन्ज विमानस्थललाई भारतका क्षेत्रीय सहरसँग बढीमा ०७६ असारसम्म जोड्ने दाबी गरेको छ।

यसैबीच पर्यटन मन्त्रालयको विज्ञ समूहले असम्भव मानेको काभ्रेको नागीडाँडामा वैकल्पिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरी २०७६ वैशाखदेखि जग्गा अधिग्रहण थालिने भनिएको छ।

मन्त्रालयले ०७६ वैशाखमा आन्तरिक उडानका लागि ६ वटा साना विमान र अन्तर्राष्ट्रिय उडानका लागि दुइटा न्यारो बडी विमान खरिदका लागि टेन्डर आह्वान गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिने भनेको छ। यसैबीच यस वर्ष पर्यटक आगमन १२ लाख पुर्‍याइने मन्त्रालयको दाबी छ।

जानकारी तथा लेखहरु