फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुन अभावमा मनकामना पुनर्निर्माण रोकियो

(GMT+08:00) 2018-08-03 16:09:36

छानामा जलप लगाउन तीन किलो सुन अपुग भएपछि मनकामना मन्दिर पुनर्निर्माणको काम रोकिएको छ। गजुर र छानामा जलप लगाउन मात्र हालसम्म १५ किलो सुन खर्च भइसकेको जीर्णोद्घार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

'छानामा मात्र साढे १६ किलो सुन लाग्ने अनुमान थियो,' उहाँले भन्नुभयो, '१५ किलो खरिद गरेका थियौँ। त्यो पनि सकियो।' उहाँका अनुसार पुरातत्त्व विभागबाट निकासा भएको चार करोड रुपैयाँले सात किलो र काठ तथा मन्दिरको आन्तरिक स्रोतबाट आठ किलो सुन खरिद गरिएको थियो। सुन नपुगेपछि डेढ सातादेखि काम रोकिएको श्रेष्ठले बताउनुभयो। 'काम गर्ने मान्छेले पनि रेस्ट भने। सुन पनि पुगेन,' उहाँले भन्नुभयो, 'अब सुन ल्याएर एक साताभित्रै काम सुरु गरिहाल्छौं। मन्दिरको मात्र काम गर्न अब १५/२० दिन लाग्ला।' सबै संरचना तयार भइसकेकाले अब १० जनामात्रै कामदार खटिएका छन्।

मन्दिर पहिल्यै ६ इञ्च ढल्किएको थियो। २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि जगैदेखि पुनर्निर्माण थालिएको हो। मूलढोका, कंकालको मूर्ति, तोरण, भित्रपट्टिको सिलिङ र छानाछेउको मुकुटमा पनि सुनको जलप लगाउने तयारी छ। 'अपुग भएको सुन इस्टिमेटभन्दा बाहिरको हो,' श्रेष्ठले भन्नुभयो। तल्लो छानामा जलप लगाउने काम लगभग सकिएको उहाँले बताउनुभयो। प्रक्रियाअनुसार पुरातत्त्व विभागसँग स्वीकृति लिएर राष्ट्र बैंकबाट सुन खरिद गर्नुपर्छ। 'असार मसान्तको क्लोजिङले गर्दा पनि सुन ल्याउन सकेनौं,' श्रेष्ठले भन्नुभयो, 'अब आइतबार–सोमबारतिर काठमाडौं गएर सुन ल्याउँछौं।' बाँकी सुन किन्न डेढ करोड रुपैयाँ लाग्ने अनुमान छ। आन्तरिक स्रोतबाटै लगानी गर्ने समितिले जनाएको छ। छानामा तामाको पाता बिछ्याएर सुनको जलप लगाइएको हो।

'गजुर मर्मतमा पाँच लाखको अनुमान गरिएकोमा २३ लाख लाग्यो,' श्रेष्ठले भन्नुभयो, 'गजुरमा प्वाल परेको रहेछ, त्यसैले सोचेभन्दा बढी लाग्यो।' सबै खर्च विवरण सबै पुरातत्त्व विभागलाई बुझाइने उहाँको भनाइ छ। आँगनमा ढुंगा छाप्ने र पश्चिम पटि टेवा पर्खाल उठाउनेलगायतका काम पनि बाँकी छ।

मन्दिर जीर्णोद्घारका लागि भक्तजनबाटै हालसम्म आठ करोड रुपैयाँ संकलन भएको छ भने काम सुरु भएयता करिब १० करोड खर्च भइसकेको छ। २०६८ सालमा पुनर्निर्माणका लागि लागत इस्टिमेट गर्दा करिब आठ करोड खर्च लाग्ने अनुमान गरिएको थियो। सामान र कामदारको ज्यालादर महँगिँदा लागत बढेको समितिले जनाएको छ।

जानकारी तथा लेखहरु