फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण

(GMT+08:00) 2018-08-04 15:07:01

      नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो जित हात पारेको छ। नेदरल्यान्ड्सलाई शुक्रबार भएको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा एक रनको झिनो अन्तरले पराजत गर्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट मान्यता प्राप्त एकदिवसीय खेलमा पहिलो जित दर्ता गराएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

      यो जितसँगै नेपालले नेदरल्यान्ड्सविरुद्ध दुई एकदिवसीय खेलको शृंखला १-१ को बराबरीमा टुङयाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षको यात्रामा पहिलो पटक एकदिवसीय शृंखला खेल्ने अवसर पाएको नेपालका लागि यो ऐतिहासिक उपलब्धी मानिएको छ। नेपाल गत बुधबार भएको आफ्नो पहिलो एकदिवसीय खेलमा भने घरेलु टोलीसँग ५५ रनले पराजित भएको थियो।

      नेदरल्यान्ड्सको आर्मस्टडर्म आर्मस्टेलभिनस्थित भीआरए मैदानमा भएको रोमाञ्चक खेलमा नेपालले अन्तिम बलमा जित भेट्टाएको हो। नेदरल्यान्ड्सलाई जितका लागि अन्तिम बलमा दुई रन आवश्यक परेको अवस्थामा कप्तान पारस खड्काले फ्रेड क्लासेनलाई रन आउट गराउँदै नेपालको जित निश्चित गरेका थिए।

      त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउनु अघि दुई सय १६ रनको योगफल खडा गरेको थियो। त्यही योगफल जोगाउने क्रममा नेपालले नेदरल्यान्ड्सलाई निर्धारित ५० ओभरमा सबै विकेट लिदै दुई सय १५ रनमा रोक्न सफल भएको हो।

      नेपालले जितका लागि बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गर्‍यो। ब्याटिङमा नेपालको पालि उकास्न विशेषगरी 'टेलइन्डर' को भूमिका विशेष बन्यो। पछिल्लो प्रतियोगितामा अल राउन्डरको भूमिकामा देखिएका मध्यम गतिका बलर सोमपाल कामीले ६१ रनको योगदान गर्दै मुस्किल अवस्थामा पुगेको नेपालको पालिलाई अघि बढाउने काम गरेका थिए। त्यस बाहेक कप्तान पारस खड्काले थप ५१ रनको योगदान दिए।

      नेपालले बलिङमा पनि सशक्त प्रदर्शन गर्‍यो। ओपनिङ बलर सोमपाल कामीले खेलको पहिलो ओभरको दोस्रो बलमै नेदरल्यान्ड्सका सुरुवाती ब्याट्सम्यान स्टेफन मिवर्गलाई कुनै पनि रन जोड्नु अघि आउट गराउँदै नेपाललाई गतिलो सुरुवात दिलाए। त्यसपछि भने बेन कुपर (१९) र डानियल टर ब्राक (३९) ले नेदरल्यान्ड्को पालि अघि बढाउँदा नेपाललाई केही मुस्किल देखियो।

      आठौँ ओभरमा बेनलाई ललित भण्डारी र २९ औँ ओभरको चौथो बलमा डानियललाई सन्दीप लामिछानेले आउट गराएपछि नेपाल खेलमा फर्किएको थियो। डानियल आउट हुँदा वेस्ले वारेसीसँगको उनको ८४ रनको साझेदारी तोडिएको थियो। ७१ रन बनाएर खेलिरहेका वारेसीलाई पनि दीपेन्द्रसिंह ऐरीले एलवीडब्यु धरापमा पार्दा नेपाल खेलमा हावी देखिएको थियो। खेलमा सन्दीपले तीन, ललितले दुई तथा सोमपाल, पारस र वसन्त रेग्मी र दीपेन्द्रले एकएक विकेट लिए।

      फेरि अर्को खेलमा नेपाली ब्याट्सम्यान पर्याप्त रन जोड्न असफल हुँदा मध्यम गतिका बलर सोमपाल कामीले नेपाली पालिलाई उकास्ने काम गरे। आठौं क्रममा ब्याटिङका लागि मैदानमा छिरेका सोमपालले ४६ बलमै ६१ रनको अर्धशतकीय योगदान गर्दा नेपाल सम्मानजनक योगफलमा पुगेको थियो। यस क्रममा सोमपालले तीन छक्का र पाँच चौका प्रहार गरेका थिए। उनी खेलको म्यान अफ दी म्याच घोषित भए।

      उनीबाहेक कप्तान पारस खड्काले पनि ५१ रनको अर्धशतकीय योगदान दिए। पारसले आफ्नो पालिमा दुई छक्का र ६ चौका प्रहार गरेका थिए। त्यसअघि सुरुवाती ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल १३ तथा सुवास खकुरेलले १९ रन जोडेका थिए। तेस्रो क्रममा आएका अनिल साह चार रनमै आउट हुँदा दीपेन्द्रसिंह ऐरीले १९ तथा आरिफ सेखले १६ रन जोडे। अन्य खेलाडीले भने दोहोरो संख्यामा रन जोड्न सकेनन्। रोहितकुमार पौडेल ६, वसन्त रेग्मी एक तथा सन्दीप लामिछाने आठ रनमा आउट हुँदा ललित भण्डारी चार रनमा अविजित रहे।

जानकारी तथा लेखहरु