फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको अलैंची बालीको अवस्था अध्ययनका लागि चिनियाँ चासो

(GMT+08:00) 2018-08-05 15:29:22

नेपालको पूर्वी भेगको प्रख्यात नगदे वाली अलैंचीको मूल्य लगातार ओरालो लागिरहेका बेला नेपालको अलैंचीको अवस्था अध्ययनका लागि चिनियाँ टोली आउने भएको छ। चीनका उद्योगी, व्यापारी, प्राध्यापक र कृषिविज्ञ सम्मिलित टोलीले किसानदेखि व्यापारी र सरकारी अधिकारीसम्मलाई भेट्ने योजना बनाएका कान्तिपुर अनलाइनले लेखेको छ।

चिनियाँ टोली ल्याउन सहजीकरण गरेको इसिमोड नेपालका जनसम्पर्क अधिकृत मीन गुरुङका अनुसार चिनियाँहरूको टोली काठमाडौंबाट भदौ १ गते ताप्लेजुङ पुग्नेछ। यहाँ फुङलिङ नगरपालिका ६ का किसानले उत्पादन गरेको अलैंचीं हेर्ने र उनीहरूसँग उत्पादनका विषयमा छलफल गर्ने कार्यक्रम छ।

अलैंचीको दाना लागेको र टिप्ने सिजन भएकाले चिनियाँहरू यही मौका पारेर आउन लागेका हुन्। उनीहरूले किसान र व्यापारीले गोदाम गरेर राखेको अलैंची हेर्ने प्रस्ताव पनि गरेका छन्। अलैंची उत्पादन गर्ने किसान, खरिद गर्ने स्थानिय ब्यापारी र स्थानीय तहका जनप्रतिनिधि (जिल्ला समन्वय संयोजक, नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्ष) सँग छलफल गर्ने कार्यक्रम तय भएको छ।

यसको समन्वयका लागि यसअघि अलैंचीसम्बन्धी काम गरेको संस्था वातावरण संरक्षण तथा विकास मञ्चलाई अनुरोध गरिएको छ। ताप्लेजुङ नेपालमा सबैभन्दा बढी अलैंची उत्पादन गर्ने जिल्ला हो। टोलीले अलैंची व्यवसायी महासंघका पदाधिकारीसँग झापाको विर्तामोडमा छलफल गर्नेछन्। उत्पादन तथा निर्यातबारे छलफल हुने अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताउनु भएको छ।

नेपालबाट चीन निर्यातसम्बन्धी व्यवस्थाबारे पनि छलफल हुनेछ। एक नम्बर प्रदेशमा सबैभन्दा बढी अलैंची उत्पादन हुने भएकाले प्रदेश सरकारसँग पनि चिनियाँ टोलीले छलफल गर्नेछ। नेपालको अलैंची अहिलेसम्म भारत मात्रै निर्यात हुँदै आएको छ। भारतबाट पाकिस्तान र खाडी मुलुकमा निर्यात हुन्छ। विश्व बजारमा पुग्दा नेपाली अलैंची भारतको भएर जाने गरेको छ। नेपालको आफ्नो ट्रेडमार्क नभएकाले भारतमा निर्भर रहनुपरेको हो।

जसका कारण मूल्य लगातार ओरालो लागिरहेको छ। प्रतिमन (४० किलो) एक लाख १४ हजारसम्ममा बिक्री भएको अलैंचीको मूल्य अहिले झापाको बिर्तामोडमा २८ हजारमा झरेको छ। ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, संखुवासभाजस्ता उत्पादन गर्ने जिल्लाका किसानले २४/२५ हजार प्रतिमन प्राप्त गर्दै छन। त्यो पनि जिल्ला सदरमुकाम पुर्‍याएपछि मात्रै। साउनयता त कारोबार ठप्पजस्तै रहेको भट्टराई बताउँछन्।

अलैंची नेपाल, भारत र भुटानमा उत्पादन हुन्छ। यो सबै भारतकेन्द्रित भएर बिक्री गर्नुपर्छ। पछिल्लो समय चीनले पनि अलैंची उत्पादन गर्छ तर नेपालको जस्तो राम्रो नभएर कालो छ। नेपालले भने ठूला, मझौला र साना गरी तीन किसिमको उत्पादन गर्दै आएको छ। भारतीय बजारको एकाधिकार तोडिए मूल्य बढ्न सक्ने व्यापारीको आशा छ।

चीनले ठूलो परिमाणमा भित्र्याउन सके खपत गर्ने विषय अध्ययनको पाटो भएको मीन बताउँछन्। व्यवसायी संघका अनुसार नेपालका ४३ जिल्लामा अलैंची उत्पादन हुन्छ। मनको एक लाख रुपैयाँ कटेपछि त नेपालका पहाडी क्षेत्रका किसानले धान, कोदो, मकै फल्ने खेतबारी नै मासेर अलैंची लगाएका छन्। पछिल्ला दिन मूल्य बढेपछि किसानमा निराशा छाएको छ। मूल्य घटबढले आर्थिक रूपमा व्यापारीहरू पनि समस्यामा परेका छन्।

 

जानकारी तथा लेखहरु