फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साँचो लगाएर रूद्राक्षको स्वरूप बदल्दै चिनियाँ व्यापारी

(GMT+08:00) 2018-08-07 15:14:50

चिनियाँ व्यवसायीले थेप्चो पारेको रुद्राक्ष मन पराउने, भारतीयले साविककै । दुई ठूला देशका व्यवसायीको यो अनौठो रुचिले संखुवासभाका रुद्राक्ष उत्पादकलाई नै विभाजित गरेको छ ।

चिनियाँहरू बोटमै आकार बिगारी थेप्चो पारिएको रुद्राक्ष मन पराउँछन् । त्यसैले उनीहरूका लागि यहाँका करिब ३ लाख दानामा स्वरूप बिगार्ने 'क्लिप' राखिएको छ । चैनपुर नगरपालिकाको खराङ र लोहाकोटमा रुद्राक्षको बोटमा प्लास्टिकका 'क्लिप' राखेर आकार थेप्चो बनाइएको छ । ती क्लिप चीनमै बनाएर ल्याइन्छन् ।

भारतीयलाई भने प्राकृतिक स्वरुपकै रुद्राक्ष मन पर्छ । रुद्राक्षको रुप बिग्रन थालेपछि व्यवसायीले त्यसमा रोक लगाउने निर्णय गरेका छन् । जिल्ला प्रशासनमा बसेको रुद्राक्ष व्यवसायी संघको भेलाले व्यवसायीलाई प्लास्टिकका सामग्री प्रयोग गरेर रूप बिगार्न नदिने निर्णय गरेको हो । चिनियाँ व्यवसायीको चाहनाअनुसार केही कृषक र व्यवसायीले रुद्राक्षको स्वरूप बिगारेको अन्य व्यवसायीले बताए । बोटमा रुद्राक्ष चेप्टाएको खबर पाएपछि व्यवसायी संघका प्रतिनिधि स्थलगत अनुगमनमा गएका थिए ।

'रुद्राक्षलाई प्राकृतिक आकारमै रहन दिनुपर्छ। त्यसले गर्दा यहाँको रुद्राक्षको मूल्य घट्दै गइरहेको छ । गत वर्षदेखि रुद्राक्षको रूप बिगार्न थालिएको र यसको नकारात्मक प्रभाव देखा पर्न थालेको छ रुद्राक्ष व्यवसायी संघका अध्यक्ष चक्र विसुन्केले बताउनुभयो। कृत्रिम स्वरूपमा रुद्राक्ष उत्पादन भएपछि प्राकृतिक स्वरूपका रुद्राक्षको मूल्य घट्न थाल्यो,' उहाँले भन्नुभयो।

जानकारी तथा लेखहरु