फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने

(GMT+08:00) 2018-08-09 13:37:09
नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । समझदारीपत्रमा हस्ताक्षरका लागि बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद बिहीबार नेपाल आउने र शुक्रबार समझदारीपत्रमा हस्ताक्षर हुने ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताउनुभयो।

समझदारीमा नेपालबाट बंगलादेशले विद्युत् खरिद गर्ने, नेपाली जलविद्युत् क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपाल–बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने जस्ता विषय समावेश हुने ईकान्तिपुर अनलाइनले जनाएको छ।

'दुई देशबीच हुने विद्युत् व्यापार कसरी गर्ने, लगानी सहजीकरणजस्ता विषय कसरी अघि बढाउने भन्ने विषयम संयुक्त संयन्त्रमा छलफल हुन्छ,' प्रवक्ता घिमिरेले भन्नुभयो। विद्युत्को उच्च माग भएपछि बंगलादेश पछिल्ला वर्षमा विद्युत् आपूर्तिको विकल्प खोज्दै छ । बंगलादेशले विद्युत् भित्र्याउन भुटानमा पनि जलविद्युत् आयोजना निर्माणमा लगानी गरेको छ ।

नेपालमा आगामी केही वर्षभित्र उत्पादित विद्युत् बढी हुने अनुमान छ । स्वदेशी लगानीमा निर्मित ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाले उत्पादन थालेपछि मागभन्दा आपूर्ति धेरै हुने अनुमान गरिएको छ । नेपालमा खपत भएर बाँकी भएको विद्युत् बंगलादेश निर्यात गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो । बंगलादेश पक्ष र ऊर्जा मन्त्रालयबीच नेपालमा बंगलादेशले लगानी गर्न सक्ने सम्भावित जलविद्युत् आयोजनाको विषयमा पनि छलफल हुँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच पनि ऊर्जा सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ। यो समझदारीअनुसार नेपाल र चीनबीच पनि सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र रहनेछ । प्रधानमन्त्री ओलीले असार पहिलो साता चीन भ्रमण गरेका थिए ।

यसअघि नेपाल–भारतबीच यस्तो सहकार्य हुँदै आएको थियो । नेपाल र भारतका ऊर्जा सचिव र सहसचिवस्तरीय संयुक्त संयन्त्रले दुई देशको ऊर्जासम्बन्धी मुद्दा छलफल गर्दै आएको छ । नेपाल र बंगलादेशबीच सहकार्य समझदारीमा हस्ताक्षर गर्ने गरी लामो समयदेखि तयारी भइरहेको थियो । नेपाल र बंगलादेशबीच यसबारे पटकपटक छलफल हुँदै आएको छ ।

बंगलादेशले आफूलाई अपुग विद्युत् भारतसँग पनि खरिद गर्दै आएको छ । भारतसँग बंगलादेशले ६ सय मेगावाट बढी विद्युत् खरिद गर्दै आएको छ । बंगलादेशले भारतीय विद्युत् व्यापार निगमसँग भारतीय कम्पनीले नेपालमा निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । भारतीय कम्पनी जीएमआरले ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माणको जिम्मा पाएको छ । समझदारीअनुसार माथिल्लो कर्णालीबाट उत्पादित ३ सयदेखि ५ सय मेगावाटसम्म विद्युत् बंगलादेशले खरिद गर्नेछ ।

सन् २०१६ को अक्टोबरमा बंगलादेशको राजधानी ढाकामा भएको दक्षिण एसिया आर्थिक सम्मेलनको क्रममा नेपाल र बंगलादेशबीच ऊर्जा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा बंगलादेशले नेपालमा करिब १ हजार ६ सय मेगावाट क्षमता बराबरका दुई आयोजना निर्माण गर्ने उल्लेख थियो।

जानकारी तथा लेखहरु