फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साढे तीन वर्षमा १ सय ८५ सम्पदा पुनर्निर्माण

(GMT+08:00) 2018-08-31 15:44:00

भूकम्प गएको ४० महिनाको अवधिमा एक सय ८५ वटा मात्रै ऐतिहासिक सम्पदा पुनर्निर्माण सकिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागको ढिलासुस्तीकै कारणले उपत्यकामा सम्पदा पुनर्निर्माणले गति लिन नसकेको हो। भूकम्पबाट २० जिल्लामा १ हजार ५ सय ९५ सम्पदा भत्किएका थिए। तर, भूकम्प गएको तीन वर्ष चार महिना बितिसक्दा हालसम्म १ सय ८५ अर्थात् (११. ५९) प्रतिशत मात्रै सम्पदा पुनर्निर्माण सम्पन्न भएको नागरिकन्यूजले लेखेको छ।

भूकम्पले ढालेका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको पुनर्निर्माण पाँच वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेपनि अपेक्षाकृत ढंगले पुनर्निर्माण हुन सकेको छैन। उपत्यकामा ४ सय ६० वटा सम्पदामा क्षति भएको थियो। तीमध्ये हालसम्म करिब एक सय सम्पदा पुननिर्माण सकिएको छ। काठमाडौं उपत्यकाका महत्वपूर्ण सम्पदामध्ये धरहरा, काष्ठमण्डप, रानीपोखरी लगायतका ४९ वटा सम्पदा पुनर्निर्माणको सुरसारै गरेको छैन्।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल सम्पदा पुनर्निर्माण निकै खर्चिलो र ऐतिहासिक र पुरातात्विक महत्वलाई जोगाउँदै काम गर्नुपर्ने भएकाले गति लिन नसकेको बताउँछन्। चालु आवमा १ सय ५० वटा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

विभाग लगायत अन्य बैदेशिक तथा सरोकारवाला संघसंस्थाबाट ४ सय ९४ वटा सम्पदा संरक्षण कार्य सञ्चालन भइरहेको विभागले जनाएको छ।

विश्व सम्पदा क्षेत्रमा रहेका ६५ वटा भत्किएका पुरातात्विक सम्पदामध्ये हालसम्म ४३ वटा सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन्। पुरातत्व विभागले सम्पदा क्षेत्रमा ३२ मध्ये ११ वटाको पुनर्निर्माण सम्पन्न गरेको जनाएको छ। त्यसै गरी स्थानीय निकाय, विभिन्न संघसंस्थाबाट संरक्षण तथा पुनःनिर्माण कार्य सञ्चालन भएका कार्यक्रम संख्या जम्मा ३३ मध्ये ३२ सम्पन्न भएका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्पदा महाशाखाका प्रमुख राजुमान शाक्यले पुरातत्व विभागले ससाना सम्पदा निर्माण गरेपनि ठूला सम्पदा पुननिर्माणमा आलटाल गरिरहेको बताउँछन्।

पुरातत्व विभागका अनुसार काठमाडौं उपत्यकामा रहेका करिब एक सय सम्पदा पुननिर्माण सम्पन्न भएका छन्। तर रानीपोखरी, काष्ठमण्डप, धराहरा जस्ता ठूला सम्पदाको पुनर्निर्माणको सुरसारै भएको छैन।

जानकारी तथा लेखहरु