फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा जनसंख्याभन्दा ३४ प्रतिशत बढी टेलिफोन प्रयोगकर्ता

(GMT+08:00) 2018-09-01 14:56:09

नेपालमा विभिन्न मोबाइल सेवा प्रदायकसँग हालसम्म ३ करोड ८३ लाखभन्दा बढी प्रयोगकर्ता आवद्ध भएका छन्। यसमध्ये कति मोबाइल प्रयोगकर्ता एक्टिभ छन् भन्ने रेकर्ड छैन।

गत असारसम्मको तथ्यांकअनुसार मोबाइल सेवातर्फ विक्री वितरण भएको जीएसएम सिमको संख्या मात्र ३ करोड ६२ लाख छ। २० लाख ६२ हजारभन्दा बढी सीडीएम प्रविधिका प्रयोगकर्ता रहेको अनलाइन खबरले लेखेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म मोबाइलसहित सबै खालका टेलिफोन सेवा सस्क्राइबरको संख्या ३ करोड ९२ लाखभन्दा बढी छ। मुख्य प्रतिस्पर्धा नेपाल टेलिकम र एनसेलबीच नै छ। नेपाल टेलिकमका सबै किसिमका टेलिफोनका प्रगोगकर्ता १ करोड ९९ लाख ८० हजार छन्। एनसेलले १ करोड ६५ लाख सेवाग्राही रहेको दावी गरेको छ।

एउटै व्यक्तिले दोहोरो सिम/रिम र फिक्स्ड टेलिफोन सेवा प्रयोग गर्दा पनि फरक-फरक गणनामा हुँदा टेलिफोन सेवाग्राहीको संख्या नेपालको कुल जनसंख्याभन्दा झण्डै ३४ प्रतिशत बढी देखिएको छ। तर, वास्तविकता भने त्यस्तो छैन। अझै धेरै विकट स्थानमा मोबाइलसहितको टेलिफोन सेवाको पहुँच पुगेको छैन। तर, एकै व्यक्तिलाई फरक-फरक कम्पनीको सेवा प्रयोग गरिरहँदा दोहोरो/तेहोरो रुपमा गणना हुँदा तथ्यांक विश्वसनीय देखिन्न।

हाल नेपाल टेलिकमको फिक्स्ड टेलिफोन अन्तरगत पीएसटीएन प्रयोगकर्ता ६ लाख ८६ हजार छ भने वायरलेसका प्रयोगकर्ता १ लाख २० हजार छन्। गत असारसम्मको एमआईएस रिपोर्टका अनुसार मोबाइलमा जीएसएमतर्फ टेलिकमले १ करोड ७५ लाख सिम वितरण गरेको देखिन्छ भने टेलिकमको सीडीएमएका प्रयोगकर्ता १५ लाख ८६ हजार छन्।

यूटीएलले ५ लाख २६ हजारलाई सेवा दिइरहेको छ। स्याटेलाइट टेलिमकको हेल्लो नेपालका प्रयोगकर्ता ३ लाख २८ हजार छन् भने स्मार्टका १८ लाख ५१ हजार। नेपालमा मोबाइल सेवाका प्रयोगकर्ता सस्क्राइबरको संख्या जनसंख्या भन्दा ३० प्रतिशत बढी भइसकेको छ। प्रत्येक कम्पनीका सेवा सस्क्राइबर गर्नेलाई एउटा व्यक्तिमा गणना गर्दा तथ्यांकको दोहोरोपनाका कारण यस्तो देखिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ।

फिक्स्ड टेलिफोन प्रयोग गर्नेको संख्या ३ प्रतिशतको हाराहारीमा छ। तथ्यांकमा यस्तो देखिने भएपनि कुन कम्पनीका सक्रिय प्रयोगकर्ता कति छन् भन्ने अन्योल कायम छ। कम्पनीहरुले प्राधिकरणलाई दिने तथ्यांकमा आधारमा यो रिपोर्ट तयार गरिन्छ। त्यसका कारण हालसम्म वितरण भएका सेवालाई नै कम्पनीले आफ्नो प्रयोगकर्ताको संख्यामा गणना गर्ने गरेका छन्। यसका कारण तथ्यांक विश्वसनीय बन्न सकेको छैन।

 

जानकारी तथा लेखहरु