फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाटनको कृष्णमन्दिर तीन बर्षपछि सर्वसाधारणका लागि खुला

(GMT+08:00) 2018-09-02 17:07:29

विसं २०७२ को भूकम्पले केही क्षति पुर्‍याएर सर्वसाधारणका लागि बन्द गरिएको पाटनको प्रशिद्ध कृष्ण मन्दिर तीन वर्षपछि आज खुलेको छ। आज कृष्ण जन्माष्ठमी भएकाले बिहानैदेखि भक्तजनका लागि मन्दिर खोलिएको गोरखापत्र अनलाइनले लेखेको छ। कृष्णमन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको थियो। श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौँ उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी त्यहाँ पुगेका थिए।

भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्न पाएका हुन्। भूकम्पबाट क्षति पुगेपछि तीन वर्षसम्म मन्दिरमा पूजारीले पूजा गर्नेबाहेक सर्वसाधारणले भित्र गएर दर्शन गर्न नपाएको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो। उहाँले भन्नुभयो, "हामीले कृष्णाष्ठमीमा खुल्ला गर्नका लागि केही दिन पहिले मात्रै निर्माण सम्पन्न गरेका थियौँ।'

कृष्णाष्ठमीका दिनमा वर्षेनी राष्ट्रप्रमुख दर्शनका लागि यहाँ आउने गर्नुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो साढे दुई बजे कृष्ण मन्दिर पुगेर प्रसाद ग्रहण गर्नु भएको छ। मन्दिरमा दर्शनका लागि पुगेका विशिष्ठ पाहुना र दर्शनार्थीको भीडलाई हेरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो।

बिहान २/३ बजेबाट नै दशनार्थी मन्दिर आइपुगेका थिए। बिहानीपखबाट भीड बढ्दै गएको चन्दले बताउनुभयो। एक पटकमा ८/१० जनासम्म दर्शनार्थीभित्र जाने गरी व्यवस्था मिलाइएको थियो।

नेपाल प्रहरीसँगै नेपाल स्काउट र विभिन्न सङ्घ–संस्थाका स्वयंसेवक दशनार्थीको सहयोगका लागि खटिएका छन्। दर्शनार्थीलाई स्वास्थ्य समस्या आउँदा तत्काल उपचारका लागि स्वास्थ्य संस्था यस क्षेत्रमा खटिएका थिए।

मन्दिर पुनःनिर्माणको क्रममा धेरै निर्माण सामग्री पुरानै प्रयोग भएको दरबार हेरचाह कार्यालयका प्रमुख प्याकुरेलले बताउनुभयो। यहाँ भएका फुटेर वा मक्किएर प्रयोग गर्न नमिल्ने अवस्थामा भएका सामग्रीबाहेक अरुलाई मर्मत गरेर प्रयोगमा ल्याइएको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिरलाई महत्वपूर्ण मानिन्छ। ढुङ्गै–ढुङ्गाले बनेको कृष्ण मन्दिरलाई शिखर शैलीको उत्कृष्ट नमूनाका रूपमा मानिन्छ। मन्दिरमा २१ गजुर रहेका छन्।

१७औँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले यो मन्दिरको निर्माण गर्न लगाएका थिए। उनले कृष्ण मन्दिर बनाउनेसँगै कृष्ण लीलामा आधारित नाच सञ्चालन गरेका थिए। जसलाई कात्तिक नाच पनि भनिन्छ। कृष्ण मन्दिर तीन तला रहेको छ। बीचको तलामा कृष्णको मूर्ति रहेको छ। मूर्तिको वरिपरि बिष्णुका १० अवतार मूर्ति छन्। मन्दिरका थामहरुमा विभिन्न देवी–देवताको मूर्ति कुँदिएको छ।

http://gorkhapatraonline.com/news/59333

जानकारी तथा लेखहरु