फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाललाई सबै बन्दरगाह प्रयोग गर्न दिने चीनको आश्वासन

(GMT+08:00) 2018-09-06 14:22:46

चीनले नेपाललाई सबै बन्दरगाह प्रयोग गर्न दिने आश्वासन दिएको छ। आश्वासन कार्यावन्यनमा आए नेपालले आवश्यताअनुसार चीनका बन्दरगाह उपयोग गर्न पाउनेछ। नेपालले ६ वटा बन्दरगाहसम्म पहुँचका लागि चीन समक्ष प्रस्ताव गरेको थियो। चीनसँगको पारवहन तथा परिवहन सम्झौतालाई अन्तिम रूप दिन आवश्यकपर्ने प्रोटोकल (प्रक्रियागत संहिता)को तेस्रो चरणको छलफलमा नेपालले त्यस्तो प्रस्ताव गरेको हो। राजधानीमा बुधबारदेखि प्रोटोकलका विषयमा दुई दिने बैठक सुरु भएको हो।

मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेका अनुसार छलफलमा नेपाली टोलीले नेपालको सीमा नजिकै मानिएका भिन्न भिन्न ६ बन्दरगाहबाहेक थप बन्दरगाहसम्म पहुँचको प्रस्ताव अघि सारेको छ। यो विषयमा चिनियाँ पक्ष सकारात्मक भएको छ। चिनियाँ पक्षले ६ वटा बन्दरगाहबाहेक सहज देखिने अन्य बन्दरगाहमा पनि पहुँच दिन सक्ने सकारात्मक संकेत दिएको सचिव घिमिरेले जानकारी दिनुभयो।

यसअघि चीनको बेइजिङमा सम्पन्न भएको दोस्रो चरणको बैठकमा नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न चीनसँग अधिकभन्दा अधिक सामुद्रिक बन्दरगाहमा पहुँचको माग गरेको थियो। त्यो बेला चीनले जटिल समस्याको पहिचान गरी समाधान गरेर तेस्रो चरणको बैठकमा उपस्थित हुने आश्वासन दिएको थियो। सोही विषयमा आवश्यक तयारी गरी चिनियाँ पक्ष बुधबारको बैठकमा प्रस्तुत भएको अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ। चीनमा करिब एक सय ३५ को हाराहारीमा सामुद्रिक बन्दरगाह छन्।

अधिकांश सामुद्रिक बन्दरगाह नेपालदेखि तीन हजार पाँच सयदेखि पाँच हजार किलोमिटर दूरीमा छन्। सबैभन्दा नजिक साँघाई बन्दरगाह छ। यो बन्दरगाह नेपाललाई तेस्रो मुलुकसँग सोझै व्यापारिक कारोबार गर्न फलदायी हुन सक्ने मन्त्रालयको विश्वास छ। छलफलमा चीनको सडक पहुँच मार्ग, सामुद्रिक पहुँच मार्ग र सुक्खा बन्दरगाहमार्फत तेस्रो मुलुकसँग व्यापार गर्ने विषय नेपालले प्रस्ताव गरेको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न चिनियाँ क्षेत्र प्रयोग गरी पारवहन सुविधाका लागि थप तीनवटा बन्दरगाह प्रयोग गर्न दिन प्रस्ताव गरेको छ।

चिनियाँ पक्ष यसअघि नै सांघाई, थ्येन्चिन र क्वाङचौ बन्दरगाह प्रयोग गर्न दिने विषयमा सकारात्मक भइसकेका छन्। यसबाहेक थप तीन बन्दरगाह सेन्चन, थ्यानमन र च्याङयाङ बन्दरगाहमा पहुँचका लागि नेपालले प्रस्ताव गरेको छ। यसैगरी कच्चा पदार्थ आयातमा लाग्दै आएको अतिरिक्त शुल्क ४० प्रतिशतलाई २५ प्रतिशतमा झार्नुपर्ने प्रस्ताव पनि नेपालले गरेको छ। उक्त बन्दरगाहसम्म पुग्ने सडक मार्ग र रेलमार्गको विषयले पनि छलफलमा प्रवेश पाएको छ। मन्त्रालयका प्रवक्ता नवराज ढकालका अनुसार यसबाहेक नेपालको सवारीसाधन चीनको कुन स्थानसम्म जान पाउने, चिनियाँ सवारीसाधन कुन स्थानसम्म आउन पाउने, सवारीसाधान गुडाउने चालकको हकमा भिसाका विषयमा कस्तो व्यवस्था कार्यान्वयनमा ल्याइने, भन्सार प्रक्रियालाई सरलीकृत बनाउनेजस्ता अहम वबषयमा पनि छलफलमा प्रवेश गराइएको छ।

चीनसँग पारवहन परिवहन सम्झौता भए पनि कुन मोडालिटीमा जाने र कसरी प्रक्रिया अघि बढाउने विषयमा प्रोटोकलमा दुवै मुलुकबाट हालसम्म सहमति नजुट्दा द्विपक्षीय व्यापारसम्बन्धी कुनै पनि योजना अघि बढ्न सकेको छैन।

जानकारी तथा लेखहरु